काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेटले यसै वर्ष खुसीको खबर थाहा पाउने र त्यसले नेपाली क्रिकेटलाई माथि लैजान सहयोग गर्ने बताएका छन्।
आइसिसीसँग नेपाली क्रिकेटलाई माथि लैजाने कुन योजना तय भएको हो र कस्तो सहमति भएको छ भन्ने नखुलाई उनले भने- ‘केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो होला। तर, नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ।’
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी), राखेप र स्वतन्त्र कमिटीका प्रतिनिधिसहित भएको छलफलबाट क्यान निर्वाचनको नयाँ मिति तय भएको हो। क्यानको केन्द्रिय निर्वाचन यसअघि असोज ३ र ४ गते गर्ने भनिए पनि छलफल बिना तय भएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असन्तुष्टि जनाएको थियो।
केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएको भन्दै राखेपकै पहलमा विवाद समाधानका लागि आइसिसीका प्रतिनिधि नेपाल बोलाइएको थियो।
आइसिसीका इमरान ख्वाजा र अमर शेखसहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसँग झण्डै दुई घण्टा छलफल गरेका थिए। छलफलमा क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न हुने गरी अगाडि बढ्ने कुरा गरिएको र सबै पक्षको सहमतिमा निर्वाचनको मिति तय भएको सदस्य सचिव सिलवालले बताएका छन्।
आइसिसीले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बनमा राखेको छ । क्यानको निर्वाचन भए अक्टोबर १२ र १३ तारेखमा हुने आइसिसीको वार्षिक बैठकमार्फत नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ।
आइसिसी प्रतिनिधिसहितको बैठकमा विभिन्न चार वटा कुरामा सहमति भएको सदस्य सचिव सिलवालले बताएका छन्। क्यान निर्वाचनको मिति तय, निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने, क्यानमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने साथै नेपाली क्रिकेटको विकासका लागि अन्य सहमतिहरु भएको उनले बताएका छन्।
बैठक सकिएपछि राखेप सदस्य सचिवले यसो भने
आइसिसी प्रतिनिधिसहित बसेर साढे १० बजेदेखि साढे १२ बजेसम्म हामीले दुई घण्टा बढो सौहार्दपूर्ण वातावरणमा कुराकानी ग¥यौँ। त्यसमा हामीले विशेष त चार वटा कुरामा सहमति गरेका छौँ। जसमा पहिलो १० र ११ गते क्यानको निर्वाचन हुने तय भएको छ।
दोस्रो कुरा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले अगाडि बढाउने एकआपसको समझदारीमा दुवै पक्षबाट प्रतिबद्धता जाहेर भएको छ।
तेस्रो कुरा यही अक्टोवर १२ र १३ तारेखमा आइसिसीको बोर्ड मिटिङमा नेपालको प्रतिबन्ध फुकुवा गरिदिनको निम्ति अनुरोध गरेका छौँ। त्यसमा उहाँहरु अत्यन्तै सकारात्मक हुनुहुन्छ। मलाई आशा एवं विश्वास छ, अबको आइसिसीको बैठकबाट नेपालको प्रतिबन्ध फुकुवा हुनेछ।
चौथो कुरा नेपाली क्रिकेटको विकासका लागि के गर्न सकिन्छ भनेर मैले उहाँहरुसँग कुराहरु राखेको थिएँ।
तल्लो तहबाट क्रिकेटलाई कसरी विकास गर्न सकिन्छ, घरेलु प्रतियोगिताहरुलाई कसरी बलियो बनाउन सकिन्छ, हाम्रो खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था कसरी गर्न सकिन्छ, हाम्रो अफिसियल, अम्पायर प्यानललाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बढीभन्दा बढी हाम्रो सहभागिता र नेपालमा नै प्रतियोगिता गर्न सकिने विषयमा पनि छलफल गरेको छु।
आइसिसी प्रतिनिधिहरुले सकारात्मक रुपमा हेरेर नेपाली क्रिकेटलाई अगाडि बढेको हेर्न चाहेको बताउनुभएको छ। त्यसमा मैले आइसिसीलाई धन्यबाद पनि दिएको छु। नेपाली क्रिकेटमा लागेका सबै व्यक्ति र समर्थकहरुको इच्छा बम्मोजिम, हाम्रो सदभाव बम्मोजिम मैले राखेका कुराहरु सकारात्मक भएका छन्।
साथै केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा पनि आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो गरेजस्तो होला। निर्णय नभई भन्नु पनि भएन। तर यही वर्षभित्र नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ। सायद त्यसले हाम्रो क्रिकेटले फड्को मार्छ भन्ने विश्वास गरेको छु।
नेपालले अहिलेको भन्दा अझै माथिल्ला प्रतियोगितामा खेल्ने, अझै माथिको अवसर प्राप्त गर्ने कुरा भएको छ।
सारमा अब नेपाली क्रिकेटले भोगिरहेको प्रतिबन्ध फुकुवा हुने देखिएको छ। नेपालको क्रिकेट एउटा प्रक्रिया र सिस्टममा जाओस् र गुड गभर्नेन्स होस भन्ने आइसिसीको चाहना छ, त्यसमा मैले राष्ट्रिय खेलकुद परिषदको तर्फबाट प्रतिबद्धता जाहेर गरेको छु।
अब क्यानमा जो आए पनि त्यसैअनुरुप अगाडि बढ्न म आग्रह गर्नेछु। मलाई विश्वास छ, अब हामीले विगतको जस्तो केही समयको लागि होइन सधैँका लागि नेपाली क्रिकेटलाई सकारात्मक बनाएर अगाडि बढाउनु छ। विगतको जस्तो रडाको नमच्चाइ क्रिकेटले एउटा बाटो समाउँछ भन्ने विश्वास लिएको छु।
(पहिलो तस्बिर- इएसपिएन क्रिकइन्फो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।