धनगढी- धनगढीमा २३ वर्षीया युवतीलाई 'बोक्सी'को आरोपमा कुटपिट गरिएको छ। धनगढी उपमहानगरपालिका– १३ कि सीता राना (नाम परिवर्तन) लाई आफ्नै काकी नाता पर्ने फूलमाया रानाले बोक्सी आरोपमा कुटपिट गरेकी हुन्।
रानाले आइतबार किशोरीको घरमै गई विभिन्न लाञ्छना लगाउँदै कुटपिट गरेको पीडितका आफन्तले बताएका छन्।
घटनापछि पीडित युवतीले विष सेवन गरेकी थिइन्। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको किशोरीकी ठुलीआमा पार्वती रानाले बताइन्। पीडित किशोरीका आमा बुवासमेत नरहेको बुझिएको छ। अहिले उनको उपचारमा आर्थिक समस्या देखिएको वडा नम्बर – १३ का वडाध्यक्ष विजयराज जोशीले बताए।
घटनाको सम्बन्धमा प्रहरीमा जाहेरी दिँदा पनि अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको पीडितका ठूलाबुवा हिरा रानाले बताए।
किशोरी स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दैछिन्। घटनापछि उनको परीक्षासमेत छुटेको छ।
यता प्रहरी कार्यालयमा किटानी जाहेरी नआएको वडा प्रहरी चौकी कैलालीले जनाएको छ। युवतीले विष सेवन गरेको जानकारी आइतबार साँझ ६ बजे मात्रै पाएको कार्यालयका प्रहरी नायव निरीक्षक कर्ण बहादुर चन्दले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।