काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताएका छन्।
यसका साथै राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्ने सुझाव उनको छ।
'भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान छ। नेपालको भौगोलिक तथा जनसङ्ख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनु उचित हुन्छ,' उनको भनाइ थियो।
राजधानीमा सोमबार आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुनेसमेत बताएका छन्।
नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिए।
पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने उनको भनाई थियो।
नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।