बारा- दाह संस्कार गर्दै गरेको अवस्थामा आधा जलेको एक महिलाको शव बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बाराको पचरौता नगरपालिकामा एक महिलाको शव जलाउँदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिएको हो।
पचरौता नगरपालिका-७ बेनौली टोलका बच्चु साह तेलीकी ४५ वर्षीय श्रीमती रामरती देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार राति करिब २ बजेको समयमा शंकास्पद रुपमा शव जलाइरहेको भन्ने खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महिलाको शव नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।
महिलाको शवलाई गाउँको मसानघाटभन्दा अन्यत्रै लगेर जलाइरहेको अवस्थामा शंका लागेर शव नियन्त्रणमा लिइएको राठौरले बताए। 'अर्ध जलेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको हौं,' राठौरले भने, ‘महिलाको शव गाउँको मसानघाटभन्दा अन्यत्रै जलाउँदै थिए। शंका लागेर नियन्त्रणमा लिएका हौ।’
शव जलाउन आएकामध्ये महिलाको पतिलाई पनि प्रहरीले पक्राउ गरेको छ।
महिलाको शव करिब ७५ प्रतिशत भाग जलिसकेको अवस्थामा पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको छ।
पोस्टमार्टम रिपोर्ट आएपछि महिलाको कालगतिले मृत्यु भएको हो, वा हत्या गरिएको भन्ने कुरा खुल्ने प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।