जनकपुर- विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउन सीमाङ्कन प्रक्रिया सुरु गरिने भएको छ।
आगामी ६ महिनाभित्र सीमांकन सुरु गर्ने गरी काम अघि बढाइएको पुरातत्व विभागद्वारा सोमबार जनकपुरमा आयोजित अन्तर्क्रियामा उल्लेख गरिएको छ।
विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधार मानी सीमाङ्कन गरिने जनाइएको छ।
सीमाङ्कन गर्न सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ।
सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने विभागको भनाइ छ।
युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीको संभाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिन सकेको थिएन।
प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताए।
पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकरण गराउने प्रक्रिया अन्तर्गत सीमाङ्कन पछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने बताएका छन्।
विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर र अभियन्ता गोपाल झाले पुरातात्विक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने खाँचौ औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।