कपिलवस्तु- नेपालको इतिहासमै 'कलङ्क'का रुपमा रहेको कपिलवस्तु घटना भएको १२ वर्ष बितेको छ। विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो।
सो घटनामा सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, ५० करोड रुपैयाँ बराबरको धनमाल लुटपाट तथा आगजनीसमेत भएको थियो।
हत्यापछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनईलगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो। करिब १ सय ६० सवारी साधनमा आगजनी भएको थियो भने १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए।
घटनापछिका हरेक वर्ष भदौ ३० लाई स्थानीयवासीले कहिले 'कालो दिन' त कहिले 'स्मरण दिन'का रुपमा सम्झने गर्दछन्। यसपालि सोही दिनको स्मरण गरिएको छ।
उक्त घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु सङ्घर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भने, 'सर्वोच्च अदालतमा दर्जानौंपटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔँ अब?'
उनले अहिलेको सरकारले पीडितलाई न्याय र राहत दिने आशा व्यक्त गरे। सहभागीहरुले विसं २०६४ भदौ ३० गतेजस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गरे। कहालीलाग्दो सो घटनाको १२ वर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो गर्दै उचित क्षतिपूर्ति दिनुपर्ने राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताए।
१२ वर्ष बितिसक्दा पनि आफ्ना माग सुनुवाइ नभएपछि पीडितहरुले मल्लिक आयोगको छानबिन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन्। सर्वोच्च अदालतमा ८ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाइ भएको छैन। घटनाको छानबिन गर्न तत्कालीन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालीन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले ३ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। छानबिनका क्रममा राज्यकोषबाट करीब डेढ करोड रुपैयाँ खर्च भएको थियो। तर, सो प्रतिवेदन अझै सार्वजनिक हुनसकेको छैन। हिंसात्मक घटना भएको १२ वर्ष बिते पनि चन्द्रौटामा बसाइँसराइ गर्नेको चाप बढेको छ। उक्त हिंसात्मक घटनापछि स्थानीय प्रशासनले पछिल्लो समय चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा राखेर कार्य थालेसँगै बसाइसराइ गरेर आउने बढेका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।