जनकपुर- जनकपुरदेखि साइकलमा यात्रा गरेर सगरमाथाको बेस क्याम्पसम्म पुग्न सम्भव होला? अब यो प्रश्नको जवाफ मिलेको छ। र जवाफ सम्भव हुन्छ भन्ने मिलेको छ। यो जवाफलाई सम्भव बनाएका हुन् जनकपुर-४ का रन्जित साहले।
३२ वर्षीय रन्जित १८ दिन ७ घण्टाको यात्रा तय गरेर शुक्रबार बिहान ९ बजे सगरमाथाको आधार शिविरमा पुग्न सफल भएका हुन्।
जनकपुरमा 'साइकल यात्री' भनेर चिनिने साह विश्वको सर्वोच्च शिखर सागरमाथाको आधार शिविर क्षेत्र कालापत्थरमा साइकल लिएर नै पुग्न सफल भएका छन्।
साधारण साइकलमा कालापत्थरसम्म पुग्ने आफू विश्वकै पहिलो व्यक्ति भएको साहले दाबी गरे। 'नेपाल भ्रमण वर्ष २०२०'को प्रवर्द्धनाका लागि साइकल चढेर कालापत्थर पुगेको बताउँदै उनले भदौ २० देखि सल्लेरीबाट यात्रा थालनी गरेको सुनाए।
यसअघि भदौ ९ मा जनकपुरको जानकी मन्दिरबाट यात्रा सुरु गरेका साहलाई कालापत्थर पुग्न १८ दिन लाग्यो।
सल्लेरीदेखि कतै साइकललाई बोकेको, कतै डोर्याएर बेस क्याम्पसम्म पुगेको उनको भनाइ छ। सगरमाथाको आधार शिविरसम्म पुग्न उनी खुरकोट, घुर्मी, ओखलढुंगा, सल्लेरी, लुक्लाको बाटो हुँदै यात्रा गरेका थिए। यसपटक कालापत्थर पुगेका रन्जितले दोश्रो चरणमा साइकल चढेरै सगरमाथा पुग्ने इच्छा रहेको सुनाए।
‘जनकपुरदेखि यात्रा सुरु गर्दा सल्लेरीसम्म सजिलै यात्रा पार गरें। सल्लेरीदेखि कतै साइकललाई काँधमा बोकेर त कतै डोर्याउँदै यात्रा गर्दै बेस क्याम्प पुगें,' आगामी योजना सुनाउँदै उनले भने, 'पहिलो चरणमा शिविरसम्मको यात्रा तय गरें, अब यहाँबाट फर्किएपछि केही दिन गाउ मैं बसेर सगरमाथा जाने तैयारी गर्छु।’ उनले यात्रा अवधिभर धेरैको सहयोग र हौसला पाएको बताए।
जनकपुरमा पान पसल सञ्चालन गर्ने साह प्रत्येक वर्ष एक महिनासम्म साइकल यात्रामा निस्कने गर्छन्। सामान्य परिवारमा जन्मिएका साह टाउकोमा नेपाली ढाका टोपी र साइकलमा चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डा बोकेर साइकल यात्रामा निस्कने गर्छन्।
यसअघि २०७२ भदौ २१ गते साहले जानकी मन्दिर, जनकपुरधामदेखि काठमाडौंको पशुपतिनाथसम्मको २ सय ५० किलोमीटर लामो यात्रा एक दिनमै तय गरेका थिए। त्यसै वर्षको आसोज ७ मा जनकपुरदेखि हलेसी महादेव, खोटाङसम्म साधारण साइकलका भरमा उनले यात्रा गरेका थिए।
त्यस्तै, उनले २०७४ मा मुस्ताङको मुक्तिनाथ, २०७५ मा जनकपुरदेखि भारत उत्तर प्रदेशको अयोध्या हुँदै लखनउसम्मको धार्मिक यात्रा गरिसकेका छन्।
(तस्बिर स्रोत- रन्जित साह)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।