काठमाडौं- आगामी बिहीबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जनसहित मध्यम वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्मको मौसमी अवस्थाबारे जानकारी दिँदै देशभर मेघ गर्जनसहित सामान्यदेखि मध्यम वर्षा हुने जनाएको हो।
महाशाखाका अनुसार केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ।
हाल पूर्वि तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ। बाँकी भू-भागमा पनि आंशिकदेखि सामान्य बादलीको अवस्था रहेको बताइएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू-भागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०१ गते (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही मध्य भू-भागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०२ गते (बिहिबार)
दिउँसो: देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति: देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
आगामी २४ घण्टाभित्र देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा नदीमा पानीको वहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सडक र हवाई यातायातमा सामान्य अवरोध आउनसक्ने पनि महाशाखाले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।