काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्धकार मुक्त बनाइने भएको छ।
जुनसुकै कारण विद्युत आपूर्ति बन्द भएपनि विमानस्थललाई अन्धकार मुक्त बनाउने गरी युपिएस (अनइन्टरप्टेबल पावर सप्लाई) जडान हुने भएको छ। विमानस्थल कार्यालयले १२ करोड रुपैयाँ खर्च गर्दै विमानस्थलमा ब्याट्री ब्याकअपको रुपमा युपिएस जडान गर्न लागेको जनाकारी दिए।
‘युपिएस जडानका लागि टेन्डरको तयारी भएको छ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘जडानपश्चात् जुनसुकै कारण विद्युत आपूर्ति बन्द भए पनि १५ मिनेटसम्म विमानस्थल भित्र हुने काममा अवरोध हुनेछैन।’
युपिएस जडान भएपछि विमानस्थल भित्र हुने सुरक्षा तथा भन्सार जाँच तथा उडान र अवतरणमा सहजता हुने उनको भनाइ छ।
यसैगरी, विमानस्थल कार्यालयले दुई वर्ष अगाडि ललितपुरको भट्टेडाडाँमा जडान गरेको राडार सञ्चालनका लागि पनि युपिएस जडान हुने क्षेत्रीले बताए। यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने काम पनि तीब्ररुपमा अगाडि बढेको क्षेत्रीले बताए। यसका लागि साढे २९ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
विमानस्थल कार्यालयले विमानस्थलको सुरक्षा र यात्रुको सहजतका लागि आवश्यक उपकरण जडानको काम पनि गरिरहेको जनाएको छ। विमानस्थल कार्यालयले अटो ट्रे स्टिमका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यसैगरी, विमानस्थलले एप्रोन मास लाइट जडान पनि गर्ने भएको छ। विमानस्थल सुधारका लागि डिजिटल प्रविधिको प्रयोग, नयाँ प्रविधिका ब्यागेज स्क्यान मेसिन, रन-वे स्विपर, फायर आलार्म प्रणालीसमेत जडान गर्न लागिएको क्षेत्रीको भनाइ छ।
विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानस्थल रन-वेको दक्षिणपट्टि दुईवटा ठूला विमान राख्न मिल्नेगरी पार्किङ-वे निर्माणको कामसमेत अन्तिम चरणका पुगेको छ।
विमानस्थलको टर्मिनल भवन सुधार तथा लामो समयदेखि नभएको रङरोगनको काम समेत अगाडि बढाइएको छ। आन्तरिक उडानतर्फको टर्मिनल भवन विस्तारका लागि समेत ८ करोड रुपैयाँ विनियोजन भई काम थालनी भएको उनले जानकारी दिए। साथै पानी सफा गर्ने कामसमेत सुरु भएको छ।
रन-वेमा विमान अवतरण गर्दा टासिने रबर सफा गर्ने कामका लागि पनि कम्पनी छनोट भएको छ। यसका लागि विमानस्थल कार्यालयले ३ वर्षमा काम सम्पन्न गर्ने गरी ४ करोड ६६ लाख ७१ हजार रुपैयाँमा कम्पनी छनोट गरिसकेको जनाएको छ।
विमानस्थल कार्यालयले प्रहरी आवास भवन समेत बनाइरहेको छ। कार्यालयले ६ करोड ५० लाख रुपैयाँमा भवन निर्माण गरिरहेको क्षेत्रीले जानकारी दिए।
७८ लाखको बुद्ध मूर्ति
नेपाललाई बुद्धको जन्मथलो भनेर प्रचारप्रसार गर्नकै लागि विमानस्थलको आगमन कक्ष प्रवेश नजिकै ६ फिट अग्लो बुद्धको मूर्ति राखिने भएको छ।
यसका लागि टेन्डर भएर कम्पनीसमेत छनोट भइसकेको क्षेत्रीले जानकारी दिए। निर्माण कम्पनीले करबाहेक ६९ लाख ९० हजारमा काम गर्ने कबुल गरेको र मंसिरभित्रै यो काम सम्पन्न हुने क्षेत्रीको भनाइ छ।
चोरी शून्य बनाउने तयारी
विमानस्थल हाताभित्र हुने चोरी न्यूनीकरणका लागि विमानस्थल कार्यालले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको क्षेत्रीले बताए। विमानस्थलको ९५ प्रतिशत क्षेत्र अहिले सिसिटिभी क्यामेराको निगरानीमा रहेको विमानस्थल प्रहरीका डिआइजी सूर्य उपाध्यायले जानकारी दिए।
अहिले विमानस्थलमा ३ सय ४५ वटा सिसी क्यामेरा सञ्चालनमा रहेका र १ सय वटा थप जडान भइरहेको उनको भनाइ छ। उपाध्यायका अनुसार यसपछि पनि थप १ सय वटा सिसिटिभी क्यामेरा जडान हुनेछन्। सिसिटिभी क्यामेरा जडान भएसँगै विमानस्थल भित्र हुने चोरी शून्यमा झर्ने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।