काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झापास्थित एक कार्यालयमा प्रहरीले छापा मारेको छ। सो क्रममा झापा जिल्ला सेक्रटरी, जनसरकार प्रमुखसहित ३ जना पक्राउ परेका छन्।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित विप्लव पार्टीको कार्यालयमा मंगलबार बिहान छापा मारेको थियो।
प्रतिबन्धित नेकपाले झापाको बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठालाई आफ्नो कार्यालयको रुपमा प्रयोग गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।
मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउन्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माइन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामग्रीहरु बरामद गरिएको अनारमनीका डिएसपी मोहन थापाले नेपाल लाइभलाई जानकारी दिए।
उक्त हतियार र दस्तावेजसहित प्रहरीले बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर भीमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगर, बिर्तामोड नगरपालिका–४ मेघाबारी चोक बस्ने झापा हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र इलाम माङसेबुङ गाउँपालिका–१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्रलाई पक्राउ गरेको छ।
पक्राउ परेका मिश्र झापा जिल्ला सेक्रटरी हुन् भने पोखरेल जनसरकार प्रमुख हुन्। मगर भने कार्यकर्ता रहेको डिएसपी थापाले बताए।
पूर्वी इलाकामा हुने धेरैजसो बम विस्फोटका घटनामा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको प्रहरीले दाबी गरेको छ।
गत भदौ २२ गते राति बिर्तामोड नगरपालिका–२ चारपानेमा शंकास्पद वस्तु विस्फोट भएको थियो। टीका पोखरेल र प्रविन मिश्र उक्त विस्फोटको घटनामा संलग्न भएको प्रहरीले जनाएको छ।
पोखरेल र मिश्रलाई बिर्तामोड नगरपालिका–४ मेघाबारी चोकबाट मे ६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टीकाराम पोखरेलको नाममा रहेको लाइसेन्स १ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरु दुई जना पक्राउ परिसकेपछि थप अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखेको हतियार र कागजात बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीले प्रतिबन्धपछि विप्लव नेकपाका कार्यकर्ताबाट ठूलो मात्रा हतियार बरामद गर्दै आएको छ ।
यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ जस्ता अत्याधुनिक हतियार एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो।
यसरी प्रहरीले विप्लव नेकपाका कार्यकर्ताबाट विभिन्न किसिमका अत्याधुनिक २६ थान हतियार बरामद गरेको जनाएको छ। जसमा ७.६२ एमएमको एलएमजी १ थान, एम १६ ए–२ १ थान, ७.६२ एमएम एसएलआर १ थान, ३०३ राइफल ३ थान, ९ एमएम एसएमजी २ थान, सेमी अटोमेटिक पेस्तोल १० थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ५ थान र भरुवा बन्दुक २ थान गरी २६ थान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।