काठमाडौं- सोमबार रातिदेखि परेको पानीका कारण हेलिकोप्टर उडानमा समस्या आएको छ। त्यसमा पनि सगरमाथा बेस क्याम्प र लुक्लामा ३ दिनदेखि अलपत्र परेका विदेशी पर्यटक बोकेर काठमाडौं आउँदै गरेका हेलिकोप्टरले विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका छन्।
नेपाल वायुसेवा सञ्चालक संघका महासचिव योगेन्द्र कुमार कँडेलमा अनुसार मंगलबार दिउँसो एक बजेसम्म ८ वटा हेलिकोप्टर काठमाडौं आउन नसक्दा बीच बाटैमा आकस्मिक अवतरण गरिएका छन् भने २ वटा हेलिकोप्टर भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।
उनका अनुसार सिम्रिक एयरको एउटा हेलिकोप्टर खरीखोला, २ वटा बनेपा र एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
यसैगरी, अल्डिच्युड एयरको रोशीखोला, कैलाश एयरको धुलिखेल र श्री एयरको रामेछापमा अवतरण भएका छन्। कैलाश एयरको एउटा हेलिकोप्टर भने बिहान ८ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।
साथै, मनाङ एयर र फिस्टेल एयरका एक/एक वटा हेलिकोप्टर भने बासामा रोकिएका छन्।
(तस्बिर- सरोज श्रीको ट्विटर ह्यान्डलबाट साभार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।