इटहरी- एक महिनादेखि जारी इटहरी नेकपाको भाँडभैलो झनै पेचिलो बन्दै गएको छ। भदौ १२ गते नेकपा इटहरी कार्यालयमा लागेको ताला खुल्न नपाउँदै सोमबार प्रदेश कार्यलयमा ताला लागेको छ।
युवा नेता सुजन लामाको नेतृत्वमा सुरु भएको पार्टी शुद्धीकरण अभियानमा अब प्रदेश स्तरका नेताहरुले समेत समर्थन जनाएका छन्। प्रदेश सदस्य रेवतीरमण भण्डारी, सर्वध्वज साँवा, जिल्ला सदस्य याम सुब्बा, प्रदेश सांसद लिलम बस्नेत र युवा नेता चन्द्र न्यौपानेले समर्थन गरेका छन्।
आइतबार बसेको बैठकले आगामी रणनीति तयार पारेको छ।
शुद्धीकरण अभियानका प्रमुख अभियन्ता सुनिल कार्कीका अनुसार पूर्वनिर्धारित कार्यक्रम बमोजिम नै ताला लगाइएको हो। अब भदौ ४ गते इटहरीमा आमसभा गर्ने र ५ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।
प्रदेश सांसद बस्नेतले पार्टीमा स्वेच्छचारिता मौलाउँदै गएकाले त्यसको विरुद्धमा लाग्नुपरेको बताए। कुनै पनि योगदान नपुर्याएकालाई टीके प्रथाबाट मनोनीत गर्ने प्रचलन बढेकाले विद्रोह गर्न बाध्य भएको उनको भनाइ छ।
इटहरी नगर सचिवमा प्रदेश इन्चार्ज भीम आचार्य निकट काशीनाथ दंगाललाई मनोनीत गरिएकोमा असन्तुष्टि चुलिएको छ। पूर्व एमालेको वडा सदस्यबाट एक्कासि नगर सदस्य भएपछि नेता कार्यर्तामा असन्तुष्टि छ। पार्टीमा लामो समय योगदान पुर्याएकाहरुको अवमूल्यन गरेर जथाभावी मनोनीत गर्न थालेपछि आन्दोलन गर्नुपरेको युवा नेता लामाले बताए।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।