भरतपुर- चितवनको भरतपुर-१२, मुनालचोकका अनिल राईले युएई र कतार गरी ७ वर्ष वैदेशिक रोजगारी समय खर्चिए। सन्तोषप्रद आम्दानी पनि भयो। त्यहाँ रहँदा उनले आर्जेको अर्को सम्पत्ति हो संगीतप्रतिको अभिरुची।
नेपालमा बस्दा उनले गीतसंगीत नसुनेका भने होइनन्। केवल सामान्य स्रोताको रूपमा रहेका अनिललाई विदेश गएपछि भने नेपाली गीतसंगीतको शब्द/संगीतले भित्रभित्रै प्रभावित बनाउन लाग्यो। उनी गीतका शब्द र संगीतमा हराउन थाले। अनि जाग्यो गीत गाउने रहर।
स्वदेश फर्किएपछि उनी अहिले गीतसंगीतको लागि मुल बाटो पहिल्याउने प्रयासमा लागेका छन्। मोफसलमै बसेर गीतसंगीतमा योगदान दिने उद्देश्यसहित अगाडि बढेको उनी बताउँछन्। ‘विदेशको बसाइले मलाई गीतसंगीततर्फ डोर्यायो,’ उनी भन्छन्, ‘विदेशको मेहनतले पनि संघर्ष के हो भन्ने बुझायो।’
चितवनमै बसेर उनले हालसम्म तीनवटा गीत दर्शकस्रोतमाझ ल्याइसकेका छन्। गीतसंगीत क्षेत्रमा भविष्य खोज्ने क्रममा अनिलले ५ वर्षअघि पहिलो गीत रेकर्ड गराएका थिए। ‘तिम्रो मान्छे म’ बोलको गीत पप शैलीको हो।
पप शैलीका गीत गाउन रुचाउने उनले पहिलो गीतबाट हौसला मिलेपछि दोस्रो गीत पनि बजारमा ल्याए। गीत थियो- ‘झुटो होइन’।
‘यी दुईवटा गीतले आर्थिक रुपमा सफलता चुमेनन्। तर, मलाई यही क्षेत्रमा रहिरहन हौसला भने दिए,’ उनी भन्छन्। अनिल करिअरको तेस्रो गीत ‘बाल्यकाल’को भिडियो सार्वजनिक गर्ने तयारीमा छन्।
‘बाल्यकाल’बोलको गीत अनिल आफैंले लेखेका हुन्। विशाल पौडेलको संगीतमा आभाष रानामगरले भिडियोको निर्देशन तथा छायांकन गरेका छन्। भिडियोमा देव आरएन, गीता सापकोटा र बेञ्जामिन गुरूङलाई फिचर्ड गरिएको छ।
उनले हालसम्म संगीतको औपचारिक कक्षा लिएका छैनन्। तर, गीतसंगीतप्रतिको लगावकै कारण गायन क्षेत्रमा प्रवेश गरेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।