काठमाडौं- पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न नसक्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबीचको खेल बरारबरीमा सकिएको छ। च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा बोरुसियाका कप्तान मार्को रियुस पेनाल्टी प्रहारमा चुकेका थिए।
ग्रुप 'एफ' अन्तर्गत मंगलबार राति भएको खेलको ५७औं मिनेटमा रियुसको पेनाल्टी प्रहार बार्साका गोलकिप्पर मार्क आन्द्रे टेर स्टेगेनले रोकेका थिए।
च्याम्पियन्स लिगमा उनको यो चौथों पेनाल्टी बचाउ हो। उनले च्याम्पियन्स लिगमा हालसम्म ६ पेनाल्टीको सामना गरेका छन्।
अवे मैदानमा भएको खेलमा ५९ प्रतिशत समय बल आफ्नो पकडमा राख्दा पनि बार्सा गोल गर्नबाट चुकेको हो।
बार्साका लागि युवा स्ट्राइकर अन्सुमन फातीले च्याम्पियन्स लिगमा डेब्यू गरेका छन्। १६ वर्षीय फाती लिग खेल्ने सबैभन्दा कान्छा बार्सिलोनाका खेलाडी बनेका छन्। यसअघि १७ वर्ष २२ दिनको उमेरमा बोजानले बार्साको जर्सीमा च्याम्पियन्स लिग खेलेका थिए।
पहिलो खेलमै बार्साले फातीलाई विश्वास गरी प्लेइङ इलेवेनमा स्थान दिएको थियो। ५९ मिनेट मैदानमा टिकेका उनले केही मुभहरु बनाए पनि गोल गर्न भने सकेनन्। उनको सट्टामा मैदानमा छिरेका लियोनल मेस्सीले पनि कुनै जादु देखाउन सकेनन्। मेस्सी गत जुलाईमा कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिनाबाट खेलेपछि मंगलबार मात्र मैदानमा उत्रिएका थिए।
बराबरीसँगै पहिलो खेलबाट दुवै टिमले एक/एक अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।