धनगढी- सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० घोषणा गरेसँगै पर्यटकीय गन्तव्यमा चहलपहल सुरु हुन थालेको छ। भ्रमण वर्षलाई लक्षित गरी एक सय गन्तव्य छनोट गरेको सरकारले पुन: केही दिन अघिमात्र २८ वटा नयाँ गन्तव्य छनोट गर्यो।
भिजिट नेपाल २०२० सचिवालयले सुदूरपश्चिमको खप्तड–रामारोशन–बडीमालिका सांस्कृतिक पैदलमार्ग र कर्णाली र्याफ्टिङलाई विदेशी पर्यटक भित्र्याउने प्रमुख गन्तव्यका रुपमा राखेको छ।
पर्यटन व्यवसायीहरू भने सरकारले सुदूरपश्चिम प्रदेशमा दुई वटा मात्र गन्तव्य राखेकोमा सन्तुष्ट छैनन्।
नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट भने 'केही पनि नहुनुभन्दा प्रदेशको एक क्षेत्रलाई सरकारले गन्तव्यमा राखेको’ बताउँछन्। उनका अनुसार नयाँ गन्तव्यमा पूर्वाधार अभाव हुँदा पर्यटकलाई समस्या हुने देखिन्छ।
‘सरकारले तत्कालै सबै क्षेत्रमा पूर्वाधार निर्माण गर्न सक्दैन। त्यसैले अहिले त्यहाँ पूर्वाधार बनाउने कि पर्यटकलाई पुर्याउने?’ अध्यक्ष भट्टले भने, 'सरकारले तत्काल प्रतिफल आउने स्थान छान्नुपर्थ्यो। तर यहाँ ठूला नेताको निर्वाचन क्षेत्र तथा पहुँचवालाको क्षेत्रलाई लक्षित गरि गन्तव्य छनोट गरेको जस्तो देखिन्छ।’
पर्यटन व्यवसायी किशोर खड्काले सचिवालयले छनोट गरेको गन्तव्य उपयुक्त भए पनि पूर्वाधार नहुँदा समस्या हुने प्रतिक्रिया दिए। उनले भने, ‘सचिवालयले उपयुक्त ढंगले पर्यटन गन्तव्य छनोट गरेको छ, तर तत्काल पर्यटकलाई खानेबस्ने, यातायात लगायतका सुविधा कसरी पुर्याउने भन्ने चुनौति रहेको छ।’
उनले संघीय सरकारले सुदूरपश्चिम प्रदेशका दुई स्थानलाई गन्तव्यका रुपमा छनोट गरेकोले थप गन्तव्य छनोट गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताए।
पर्यटन व्यवसायी खड्काले सुदूरपश्चिम प्रदेशमा गठन गरिएको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले पनि काम गर्न नसकेको आरोप लगाए। ‘अन्य प्रदेशहरूमा समितिका बैठक भएर धमाधम कार्यक्रमहरू अगाडि बढाइसके पनि सुदूरपश्चिम प्रदेशमा समितिको पहिलो बैठक पनि बस्न सकेको छैन,’ उनी भन्छन्।
सुदूरपश्चिम प्रदेशका तराईका दुई तथा पहाडका ७ गरि ९ जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ) ग्रामीण लगायतका पर्यटकीय गन्तव्य रहे पनि आवश्यक पूर्वाधारको अभाव देखिन्छ। सोही कारण पनि आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर हुनुका साथै पर्यटन विकासमा आशातीत प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरूको अनुभव छ।
सुदूरपश्चिममा अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भूभाग समेटिएको प्रसिद्ध खप्तड रहेको छ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा र्याफ्टिङको निकै सम्भावना रहेको छ। त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल, तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोवारीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन्।
त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन्।
यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।