रोल्पा- रोल्पाका स्थानीय सरकारले पर्यटन विकासमा चासो देखाएका छन्। जिल्लाका अधिकांश स्थानीय सरकारको रोजाइमा पर्यटन परे पनि दुई स्थानीय सरकारले नतिजा स्थानीय महसुस गर्न पाएका छन्। जसका लागि ती स्थानीय सरकारले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरेका थिए।
जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले रक गार्डेन निर्माण गरेको छ। रोल्पा नगरपालिका वडा नं ३ सातदोबाटोमा निर्माण गरिएको उक्त रक गार्डेन अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ। डिभिजन वन कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त लगानीमा निर्मित उक्त गार्डेन निर्माणका लागि १३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ। डिभजन वन कार्यालय रोल्पाको ९ लाख र रोल्पा नगरपालिकाको ४ लाख लगानी रहेको उक्त रक गार्डेनको संरक्षण, संवर्द्धन र थप व्यवस्थापनको काम भने रोल्पा नगरपालिकाले गर्ने भएको छ।
'चालु आर्थिक वर्षमा समेत उक्त गार्डेनको थप विकासका लागि शौचालय, टिकट घर, टहरा, चौतारी र सोफाहरु निर्माण गर्छौं,' नगर प्रमुख पूर्ण केसीले भने। पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गरेको रक गार्डेनमा दैनिक सरदर ४ सय मानिस अवलोकन गर्न जाने गरेको नगरपालिकाले जनाएको छ। प्रतिव्यक्ति ३० रुपैया प्रवेश शुल्क तोकिएको उक्त गार्डेन हेर्न जाने विद्यार्थीले भने ५० प्रतिशत छुट पाउनेछन्।
उक्त रक गार्डेनको टिकट बिक्रीबाट दैनिक सरदर ५ हजार रुपैयाँ आम्दानी हुँदै आएको बताइएको छ। रक गार्डेन सुरक्षा र टिकट वितरणका लागि स्थानीय २ युवाले रोजगारीसमेत पाएका छन्।
ढुंगाबाट निर्मित उक्त बगैंचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्युठान र दाङबाट समेत आउने गरेको नगर प्रमुख केसीले जानकारी दिए। 'कम लगानीमा स्थानीय स्रोतसाधनको प्रयोग गरेर बगैंचा तयार गरेका छौं,' केसीले भने, 'नगर उद्यानको रुपमा रहेको उक्त बगैचालाई अझै व्यवस्थित गरि आन्तरिक पर्यटनको केन्द्र बनाउने योजना छ।'
विभिन्न संघ संस्थाले उक्त स्थानमा बैठकसमेत गर्न थालेका छन्। आगामी दिनमा संरचना समेत तयारी गरिने नगरपालिकाले जनाएको छ। 'नेपाल भ्रमण वर्ष २०२० को लागि छानिएका नेपालका १ सय गन्तव्य मध्येको एक जलजला भ्रमण गर्न आउने पर्यटकले रक गार्डेन पनि अवलोकन गरुन् भन्ने हाम्रो मनसाय हो,' नगरप्रमुख केसीले भने।
स्वर्गद्वारी महाप्रभुको जन्मस्थलको नामले प्रख्यात रुन्टीगढी गाउँपालिका पर्यटन विकासमा जिल्लामै अग्रभागमा देखिएको छ। विगत वर्षमा प्रचारात्मक काममा बढी लगानी गरेको उक्त गाउँपालिकाले यस वर्ष भने पर्यटन पूर्वाधार र प्रवर्द्धनलाई सँगसँगै लैजाने भएको छ। पर्यटन पूर्वाधारका लागि महाप्रभुको जन्मस्थल रुन्टीमा पूर्वाधार निर्माणको काम हुने भएको छ। यसैगरी माओवादीले सशस्त्र युद्ध घोषणा गर्दा पहिलो पटक प्रहरी चौकी आक्रमण गरिएको होलेरीमा शान्ति स्मारक निर्माण कार्य भइरहेको छ।
गढीलेखमा पूर्वाधार निर्माण, गुराँस संरक्षण अभियान, होलेरी डाँडामा व्यवस्थित पार्क सहितको भवन निर्माणको काम गर्ने गाउँपालिकाले योजना सारेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिए। प्रर्वद्धनात्मक कामको रुपमा गाउँपालिकाले यस वर्ष राष्ट्रिय मिडिया सम्मेलन गर्ने भएको छ।
'नेपाल पत्रकार महासंघ रोल्पाको संगको संयुक्त आयोजनामा गरिने उक्त सम्मेलनले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा गरेका छौं,' अध्यक्ष बुढाले भने। यसका अतिरिक्त एक्स्प्रो रुन्टीगढी पनि सञ्चालन हुने भएको छ। देशका व्यावसायिक सञ्चारकर्मीहरुको सहभागितामा हुने उक्त एक्स्प्रोमा सहभागीले गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको रिपोर्ट तयार गर्नेछन्। 'त्यसरी तयार गरिएको रिपोर्टको एनिमेसन गरी पर्यटन बोर्डले विशेष कार्यक्रम गर्नेछ,' पर्यटन फोकल पर्सन दिपक डिसीले भने, 'सबै कामका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम सुरु भएको छ।'
चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धनका लागि ४५ लाख र पर्यटकीय भौतिक संरचना निर्माणका लागि ४ करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। 'अत्यावश्यक बाहेक सडक निर्माणको कामलाई प्राथमिकतामा राखेका छैनौं,' गाउँपालिका अध्यक्ष बुढाले भने, 'आर्थिक विकासका लागि कृषि र पर्यटन नै गाउँपालिकाको मेरुदण्ड भएकाले यसतर्फ लगानी बढाएका हौं।'
राष्ट्रिय फूल लालीगुराँसको संरक्षणमा कसैको ध्यान नपुगेको भन्दै सो गाउँपालिकाले गुराँस संरक्षण अभियान थालनी गरेको छ। गाउँपालिका, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र सब डिभिजन कार्यालयको साझेदारी रहने गरी होलेरी आसपासको वन क्षेत्रलाई गुराँस संरक्षण क्षेत्र बनाइएको पर्यटन फोकल पर्सन डिसीले बताए। उक्त स्थानलाई गुराँस गार्डेनको नाम दिएर संरक्षण अभियान थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।