काठमाडौं– पर्साको बिन्दबासिनी गाउँपालिका–५ हसवास्थित खोल्सीमा एक व्यक्तिको शव फेला परेको छ।
घाँटी रेटेर हत्या गरेर फालेजस्तो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। नामथर नखुलेको अन्दाजी २६/२७ वर्ष जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय पाखेरिया पर्साबाट खटिएको प्रहरी टोलीले शव जाँच मुचुल्का उठाएर उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।
उक्त मृत व्यक्तिलाई चिन्नेहरुले प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेको छ।
गहुँगोरो वर्ण, ५ फिट ५ इन्च उचाइ, पातलो शरीर लाम्चो अनुहार, चुच्चो नाक, रातो रङको कपडाको जुत्ता लगाएको, रातोमा सेता रङको धर्सा भएको टिसर्ट, निलो रङको जिन्स पाइन्ट लगाएको, बायाँ हातमा सेतो फलामको बाला लगाएको अवस्थामा घाँटी रेटेर हत्या गरी उत्तानो परेको अवस्थामा शव फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।