धनगढी- कैलाली र कञ्चनपुरमा हुलाकी सडकको निर्माण अघि बढे पनि पुल निर्माणको प्रक्रिया भने अघि बढ्न सकेको छैन।
हुलाकी सडक अन्तर्गत कैलालीका दुई र कञ्चनपुरका ४ सहित ६ वटा पुलको निर्माणका लागि बोलपत्र आह्वान, ठेक्कापट्टा लगायतका प्रक्रिया अघि बढ्न नसकेको हुलाकी सडक डिभिजन कार्यालय, धनगढीले जनाएको छ।
हुलाकी सडकअन्तर्गत भारत सरकारले कैलालीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर सडक निर्माण गरिसकेको छ। सो खण्ड नेपाल सरकारलाई हस्तान्तरणसमेत भइसकेको छ। सोबाहेक हुलाकी सडकमा बाँकी रहेको खण्डको काम अहिले नेपाल सरकारले कैलालीमा दुई र कञ्चनपुरमा तीन चरणमा गरिरहेको छ। कैलालीको बसन्तादेखि कान्द्रा, बाइपास रोड र कञ्चनपुरको डोकेबजारदेखि बेलौरी, बेलौरीदेखि बेल्डाँडी र बेल्डाँडीदेखि दैजीसम्मको सडकको ठेक्का सम्झौता भई काम अघि बढेको छ।
हुलाकी सडक डिभिजन कार्यालयका इन्जिनियर मोहनचन्द्र हमालले भने, 'कैलाली र कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम भइरहेको छ, तर, पुलहरू निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छैन।' इन्जिनियर हमालका अनुसार ६ वटा पुलको संघ सरकार मातहतको सडक डिभिजन कार्यालयले ठेक्का गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन।
कुन खण्डमा कति प्रगति?
हुलाकी सडक डिभिजन कार्यालयका अनुसार बसन्ता-कान्द्रा सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआए) तयार भएर वन विभागमा पठाइएको छ। मन्त्रिपरिषद्ले सो सडकमा पर्ने रुखहरू कटानका लागि स्वीकृति समेत दिइसकेको छ।
‘मन्त्रीपरिषद्ले हुलाकी सडकमा पर्ने रुखहरू कटानका लागि स्वीकृति दिइसकेको छ। हामीले इआएए तयार गरी वन विभागमा पठाएका छौं,’ इन्जिनियर हमालले भने, 'सो सडकखण्डमा ४ सय वटा रुख कटान गर्नुपर्ने हुलाकी सडकले विवरण तयार गरेको थियो। तर, इआएए रिपोर्टमा भने करिब २ सय वटा रुख मात्र कटान गर्नुपर्ने उल्लेख छ।'
१८ किलोमिटर लामो सो सडक निर्माणका लागि टुडीपुडा-चन्द्रा-बसन्ता जेभीसँग ३१ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। सो सडकको हालसम्म ५५ प्रतिशत काम पूरा भइसकेको हुलाकी सडक डिभिजन कार्यालय धनगढीले जनाएको छ।
त्यस्तै, कैलालीको साढे ६ किलोमिटर लामो बाइपास सडक निर्माणका लागि २३ करोड ११ लाख रुपैयाँमा रमण केएस जेभीले ठेक्का पाएको छ। सो सडकको काम ४५ प्रतिशत पूरा भइसकेको जनाइएको छ। सो सडकमा पर्ने दुई वटा पुल निर्माणका लागि भने हालसम्म कुनै टुङ्गो लाग्न सकेको छैन।
हुलाकी सडक डिभिजन कार्यालयका अनुसार कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर सडकको निर्माण कार्य ४५ प्रतिशत पूरा भइसकेको छ। सो सडक निर्माणका लागि शर्मा-राजेन्द्र जेभीले ३६ करोड ४७ लाख रुपैयाँमा ठेक्का पाएको छ। बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडक निर्माणका लागि ३८ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। सो सडकको पनि ४५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ।
त्यस्तै, कञ्चनपुरको बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकको ५० प्रतिशत काम सकिएको छ। सो सडक निर्माणका लागि ४१ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। हुलाकी सडक डिभिजन कार्यालयका अनुसार यी सडकको चौडाइ ७ मिटर निर्धारण गरिएको छ।
'यी सबै योजनाहरू चालू आर्थिक वर्ष २०७६/०७७ भित्र पूरा गर्नेगरी ठेक्का सम्झौता भएका हुन्, ' हमालले भने।
मर्मतको काम अघि बढेन
हुलाकी सडकअन्तर्गत कैलालीको धनगढी क्याम्पसरोडदेखि कटैनीसम्मको सडक मर्मत कार्य पनि अझैं अघि बढ्न सकेको छैन। हुलाकी सडक डिभिजन कार्यालय धनगढीले सो सडकको मर्मतका लागि बोलपत्र आह्वान गरी योजनाको सम्झौता गरिसकेको भए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन।
हुलाकी सडक डिभिजन कार्यालयले ३१ किलोमिटर लामो सडक मर्मतको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ। तर, गत २३ भदौ गते २४ लाख ५८ हजार ४ सय रुपैयाँमा ठेक्का स्वीकृत गरिएको छ। सो कार्यको ठेक्का कौशिक निर्माण सेवा अछामले पाएको छ।
‘निर्माण कम्पनीले योजनाको सम्झौता गरेको दिनदेखि नै काम अघि बढाउनुपर्ने हो,’ इन्जिनियर हमालले भने, 'तर, १५ दिनसम्म ठेकेदार कम्पनीले काम नगरी बस्यो।' उनका अनुसार सो योजना असोज १५ गतेभित्र पूरा गर्नेगरी ठेक्का सम्झौता गरिएको छ।
उक्त योजनाको दुई चरणमा ठेक्का गरिएको छ। क्याम्पसरोडदेखि फूलबारीसम्मको १५ किलोमिटर सडक मर्मतका लागि १२ लाख ६२ हजार ९ सय तथा फूलबारीदेखि कटैनीसम्मको सडक मर्मतका लागि ११ लाख ९५ हजार ५ सय रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।
निर्माण कम्पनीले भने ढुङ्गा, बालुवा, गिट्टीको अभाव रहेको भन्दै काम अघि बढाउन नसकेको जनाएको छ। यद्यपि डिभिजन कार्यालयले भने कुनै बहानाबाजी नचल्ने जनाएको छ। ‘१५ दिन कम्पनीले विभिन्न बहाना देखाउँदै काम अघि बढाएन। अब समयमै काम नसके कार्यालय कानुनी प्रक्रिया अनुसार अघि बढ्छ,’ इन्जिनियर हमालले चेतावनी दिए।
धनगढीदेखि कैलारीको कटैनीसम्मको हुलाकी सडकका दर्जनौं स्थानमा सडकको पिच उप्किएको छ। केही कल्भर्टमा चिरा परेका छन्। कतिपय कल्भर्टका फलामे छड बाहिर निस्केका छन्। कल्भर्टबाट निस्केका छडका कारण दैनिक सवारी दुर्घटना हुने गरेका छन्।
पछिल्लो डेढ वर्षको अवधिमा फुटेका कल्भर्टका कारण भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भइसकेको स्थानीयले बताएका छन्। कल्भर्ट फुटेपछि निस्कने छडले सो क्षेत्रमा दैनिक दुर्घटना हुने गरेको स्थानीय रुपमा तामाङले दाबी गरिन्।
धनगढी-फूलबारी सडकखण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकलाई झनै सास्ती हुने गरेको धनगढी वडा नम्बर १५ का कलह चौधरीले बताए। उनले भने, 'धनगढीबाट फूलबारी, हसुलियातर्फ आउने यात्रुले सडकका कारण निक्कै कष्ट भोग्नुपरेको दुखेसो गर्छन्। यातायातका साधन बिग्रिने र टायर पड्किने हुँदा यात्रुले झनै कष्ट भोगिरहेका छन्।'
सो सडक मर्मत कार्यको ठेक्का पाएको निर्माण कम्पनीका प्रतिनिधि सुमन थापाले तीन/चार दिनमै मर्मत काम अघि बढ्ने बताए। ‘हामीले भारतबाट कामदार मगाएका छौं। उनीहरू ३ दिनभित्र आइपुग्छन्, त्यसपछि आवश्यक सामग्री ल्याएर काम अघि बढाउँछौं,' उनले भने, 'काम सुरु गरेको १५ देखि २० दिनमै काम पूरा गर्ने लक्ष्य लिएका छौं।'
सडकको चौडाइ बढाउन भएन पहल
भारतले निर्माण गरी हस्तान्तरण गरेको धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाइ जम्मा ३ दशमलव ७५ किलोमिटर मात्रै छ।
अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाई ७ मिटर रहेको छ। यद्यपि यसअघि नै बनिसकेको र मर्मतको प्रक्रियामा रहको सो खण्डको सडकको चौडाइ बढाउनेबारे भने अहिलेसम्म कुनै पहल भएको छैन।
‘केही दिनअघि प्रतिनिधिसभा सदस्य नारदमुनि रानाको नेतृत्वमा एक प्राविधिक टोलीले सो सडकको डिपिआर तयार गरेको थियो,’ हुलाकी सडक आयोजनाका इन्जिनियर हमालले भने, 'तर, यो सडकको चौडाइ बढाउनेबारे कुनै टुङ्गो लागेको छैन।'
उनले सो सडक एक लेनको भएकाले दुई लेन बनाउन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।