काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङमा १६ खेलाडी छनोट भएका छन्।
लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएका हुन्। यसअघि सोमबार पनि पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट हुँदा मंगलबार पनि पुरुषमा ५ र महिलामा ३ खेलाडीले १३औं सागको यात्रा तय गरेका हुन्।
मंगलबार भएको पुरुषतर्फ ४९ केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६९ केजीमा एपिएफका विकास लामा छनोट भए। फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाएका थिए। विकासले भने फाइनलमा प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश बनाए।
पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए। दीपकले फाइनलमा प्रदेश–३ का भूमीलाल दिवसलाई ५–० ले पराजित गरेका थिए। मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाले।
महिलातर्फको ५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन्। ६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भइन्। उनले
फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ ले स्तब्ध बनाइन्। यसअघि सोमबार पुरुषतर्फ ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए। महिलातर्फ भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।