काठमाडौं- युइएफए च्याम्पियन्स लिगमा पहिलो दिनका खेलहरुमा केही उत्कृष्ट गोल र केही उत्कृष्ट बचाउसँगै अप्रत्याशित नतिजाहरु पनि देखिए। दोस्रो दिन हुने समूह चरणका खेलहरुलाई लिएर पनि त्यस्तै आँकलन भइरहेका छन्।
पहिलो दिनका खेलमा नापोलीले लिभरपुललाई २–० ले हराउनु, साल्जबर्गले जेन्कलाई ६–२ ले हराउनु, बोरुसिया डर्टमुन्डविरुद्ध बार्सिलोनाका गोलपिकर मार्क आन्द्रे टेर स्टेगेनले पेनाल्टी बचाउ गर्नु, सबैभन्दा कम उमेरमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने अन्सु फातीको कीर्तिमान जस्ता कुराहरु चर्चामा रहे।
बुधबार समूह ए, बी, सी र डी अन्तर्गतका खेलहरु हुँदै छन्। जसमध्ये पनि समूह ‘ए’ बाट पिएसजी र रियल मड्रिड साथै समूह ‘डी’बाट एथ्लेटिको मड्रिड र युभेन्टसबीच हुने खेलमा धेरैको चासो छ।
पिएसजी र रियल मड्रिडको खेल नेपाली समयअनुसार बुधबार राति पौने १ बजे पेरिसको घरेलु मैदानमा हुँदैछ। पौने १ बजे नै एथ्लेटिको मड्रिड र युभेन्टसबीचको खेल एथ्लेटिकोको मैदानमा हुँदैछ।
विशेषतः पिएसजीमा स्टार स्ट्राइकरहरु नेमार, एडिसन काभानी र केलियन एमबाप्पे नुहँदा दबाब बढेको देखिन्छ।
गएको सिजन च्याम्पियन्स लिगमा खेल अफिसियललाई दुर्व्यबहार गरेको आरोपमा नेमार प्रतिबन्धमा छन् भने काभानी र एमबाप्पे दुवै घाइते छन्। नयाँ सिजनका लागि ल्याइएका स्ट्राइकर माउरो इकार्डी पनि पूर्ण फिट छैनन्।
पिएसजी प्रशिक्षक थोमस टचेलले आफ्ना मुख्य स्ट्राइकरहरु नभए पनि रियल मड्रिडविरुद्ध बलियो बनेर खेल्ने बताएका छन्। ‘हाम्रो केही स्ट्राइकर हुने छैनन् भन्ने सबैलाई थाहा छ, तर हामीसँग भएका खेलाडीमाथि यो खेललाई लिएर मलाई पूर्ण विश्वास छ’ उनले भने। यसका साथै डाक्सलर, केहेरर र डाग्बा पनि घाइते नै छन्।
हुन त रियल मड्रिडमा पनि घाइते रहेका लुका मोडरिक, भालभर्दे, इस्को, मार्को एसेन्सियो, मार्सेलो जस्ता खेलाडीका साथै प्रतिबन्धमा रहेका नाचो र कप्तान सर्जियो रामोस पनि हुने छैनन्। गएको हप्ता ला लिगामा सामेल भएका इडन हाजार्ड भने मड्रिडबाट पहिलो च्याम्पियन्स लिगमा सामेल हुनेछन्।
सम्भावित सुरुवाती ११
पिएसजी – नाभास, मेनियर, सिल्भा, किमपेम्बे, बेर्नट, माक्र्विनस, गुए, भेराट्टी, डि मारिया, इकार्डी, सराबिया
रियल मड्रिड– कोर्टुवा, कार्भाजल, भारान, मिलिटाओ, मेन्डी, क्यासेमिरो, क्रुस, जेम्स रोड्रिग्वेज, बेल, बेन्जेमा, हाजार्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।