काठमाडौं- नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठित सरकारी समितिले निगमको दीर्घकालीन सुधारका लागि ४९ प्रतिशत शेयर निजीकरणको सुझाव दिएको छ। निगमको संस्थागत सुधारका लागि २ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको संस्था बनाउनुपर्ने सुझाव दिइएको छ।
पूर्वपर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको टोलीले नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ खर्ब रुपैयाँ हुनुपर्ने सुझाव दिएको छ। त्यस्तै, सार्वजनिक निजी साझेदारीमा कम्पनी चलाउने सुझाव पनि घिमिरे नेतृत्वको टोलीले दिएको छ। नेपाल वायुसेवा निगमको चुक्ता पुँजी ३६ करोड रुपैयाँ छ।
समितिले नयाँ बन्ने कम्पनीमा नेपाल सरकार (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बीमा संस्थान तथा अन्य सार्वजनिक संस्थानसमेत)को ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी संरचना तयार गर्ने सुझाव पनि दिएको छ।
यसैगरी विदेशी साझेदार वा नेपाली अन्य लगानीकर्ताहरुलाई ३५ प्रतिशत सेयर दिइनुपर्ने प्रस्ताव गरिएको छ। नेपाल एयरलाइन्सका वर्तमान तथा भूतपूर्व पदाधिकारीहरु तथा कर्मचारीहरुको १.५ प्रतिशत सेयर रहने प्रस्ताव गरिएको छ।
निजामती सेवा तथा नेपाल सरकारको पूर्ण स्वामित्व भएका सार्वनजनिक संस्थाका कर्मचारीहरुको १.५ प्रतिशत, पर्यटन व्यवसायी संस्था वा पर्यटन व्यवसायीको ६ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको ५ प्रतिशत सेयर रहने गरी काम अघि बढाउन सुझाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।