काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्।
बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताए।
'जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म बघिन चुपै लागेर बस्छे। डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन। लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ। लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन।'
‘डेढ वर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने उनले आश्वासन दिए। उनले भ्रष्टाचारमा शुन्य सहनशीलता सरकारको ‘लिप्स सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए।
प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइपनि असन्तुष्ठि जाहेर गरे। ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न सहरी विकास मन्त्रीलाई निर्देशन दिए।
नेत्र विक्रम चन्द समूहका क्रियाकलापप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गरे। हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।