काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता सम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन्।
पार्टी संसदीय दलका नेतासमेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिए।
बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाले निर्देशन दिएको पार्टीका राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता सम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राखी अघि बढ्न दिएका छैनन्। सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली कांग्रेसको फरक मत छ। सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत पनि गराए।
बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।