काठमाडौं- यो महिनाको ‘पलेँटी शृंखला’ विगतका पलेँटीभन्दा भिन्दै प्रकृतिको हुने भएको छ।
अंग्रेजी महिनाको अनितम सातामा आयोजना हुँदै आएको सो सांगीतिक कार्यक्रममा यसपालि तीन जना साहित्यकारहरू सहभागी हुने भएका छन्। आफ्ना नयाँ प्रकाशित पुस्तकका साथ पलेँटीमा प्रस्तुत हुने तीनै जना साहित्यकार गीति साहित्यमा पनि स्थापित व्यक्तित्व हुन्। त्यसैले यसपालिको पलेँटी संगीत र साहित्यको संगम हुने आयोजक संस्था नेपालयले जनाएको छ।
असोज १०, ११, र १२ (९ सेप्टेम्बर २७, २८ र २९) मा आयोजना हुने सो सांगीतिक कार्यक्रमकै क्रममा साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुनेछन्।
सो क्रममा संगीतबद्ध गीतहरू सुनाइनेछन्।
पहिलो दिन कवि तीर्थ श्रेष्ठ प्रस्तुत हुनेछन्। उनले रचना गरेका गीत गायक फत्तेमान लगायत नयाँ पुस्ताका गायक, गायिकाले स्वर दिएका छन्। उनको चर्चित कविता ‘हिउँमा लेखिएका नाम’ पनि संगीतबद्ध भएको छ। उनका धेरैजसो गीतमा संगीतकार आभासले धुन भरेका छन्। उनको कृतिमाथि निबन्धकार रोशन शेरचनको संक्षिप्त मन्तव्य रहनेछ।
‘जीवन यात्राको यो क्षणमा आएर आफ्नो नयाँ कृति प्रकाशित गर्न पाउनु उसै आनन्दको विषय होस त्यसमा पनि सांगीतिक उत्थामना क्रियाशील पलेँटीको मञ्चबाट यसलाई सार्वजनिक गर्ने अवसर जुर्नु अर्को उच्च आनन्दको विषय हो,' कवि तथा गीतकार श्रेष्ठले भने।
त्यसैगरी असोज ११ गते कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन्। रिजालसँग पनि उनको गीति लेखनको यात्रा र नव प्रकाशित पुस्तकका सन्दर्भसँग सम्बन्धित रहेर अन्तरसंवाद गरिने कार्यक्रम रहेको छ। रिजालको नयाँ कृति र उनको गीति लेखनमा केन्द्रीत रहेर समालोचक रजनी ढकालले मन्तव्य व्यक्त गर्नेछिन्।
नारायण गोपालले गाएका गीत 'केही मिठो बात गर', 'यसैगरी बिताइदिन्छु', 'आँखा छोपी नरोऊ भनी', गायक फत्तेमानले स्वर दिएको 'बनै खायो डढेलोले' जस्ता रिजालका अनगन्ती गीतहरू नेपाली गीति साहित्यका कोसेढुंगा साबित भएका छन्। रिजालको पलेँटीमा यी चर्चित गीतका साथै केही नयाँ गीत प्रस्तुत हुनेछन्।
'म संगीत र साहित्य दुवैको अनुरागी हूँ। तर यो पुस्तक भने एउटा सामान्य मान्छेको जीवन यात्राको विवरण हो। यसमा एउटा सामान्य व्यक्तिसँग जोडिएर आएको समय पनि समेटिएको छ। यो पुस्तक मेरो समय र म उभिएको कोणबाट देखिएको सामान्य दृष्टि हो,' उनले भने।
घटस्थापनाको साँझ हुने यस महिनाको अन्तिम पलेँटी शृंखलामा अर्का कवि तथा गीतकार मञ्जुल प्रस्तुत हुनेछन्। ‘नेपालय क्यासिक’ शीर्षक अन्तरगत मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’लाई नेपालयले पुनः प्रकाशित गरेको छ। यो पुस्तकमा मञ्जुल र रामेशको चर्चित सांगीतिक जोडीले पूर्वी नेपालको सांगीतिक भ्रमण गर्दाको यात्रा विवरण समेटिएको छ।
२०२१/२२ सालताका चर्चा कमाएको ‘राल्फा’कालभन्दा पहिलेदेखि नै गीत लेखनमा लागेका कवि मञ्जुलले अनगन्ती गीत लेखेका छन्।
‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने मञ्जुलको पलेँटीमा उनको त्यही विगतको सांगीतिक झलक समेटिनेछ। कवि मञ्जुलको पुनःप्रकाशित पुस्तक र व्यक्तित्वमाथि उनीसँग विगतमा नजिकबाट संगत गरेका राजनीतिक व्यक्तित्व रघु पन्तले मन्तव्य दिनेछन्। मञ्जुलका गीतहरू ‘मेरो सानो मुरलीमा’, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गी’, ‘कोशी छेऊ उभेको सिमल’ जस्ता पृथक शैलीका रचना मनिन्छन्। पलेँटीको सांगीतिक टीमसँग मिलेर मञ्जुल आफ्ना विगतका तिनै सांगीतिक रचनाहरू गुनगुनाउने छन् र विगतका क्षणलाई सम्झनेछन्।
‘पलेँटी मैले आनन्द लिने सांगीतिक थलो हो। त्यसकै मञ्चमा बसेर हाम्रो सांगीतिक यात्रा विवरण समेटिएको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुँदैछ। म एकदमै खुशी छु,' मञ्जुलले प्रतिक्रिया दिए।
पलेँटी गीति विधासँग बढी निकट कार्यक्रम भए पनि यस महिनाको पलेँटीले संगीत र साहित्यलाई अझ प्रत्यक्ष रुपमा निकट बनाउन मद्दत पुग्ने पलेँटीका संयोजक आभासले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।