काठमाडौं- सञ्चालनमा रहेको देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्राधिकरणले चालू आव २०७६/०७७को बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई करसहित ३ अर्ब ८९ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरको हो।
प्राधिकरणको कुल बजेट चालु आवको लागि भने ४६ अर्ब ५० करोड रुपैयाँ रहेको छ। प्राधिकरणको बजेट भदौ १९ गते बसेको प्राधिकरण बोर्ड बैठकबाट पारित भइसकेको छ।
यसैगरी प्राधिकरणले ३ वटा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको विमानस्थलका लागि मात्रै आधा बजेट विनियोजन गरेको छ।
प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको तयारीका लागि सहित गरी कुल २२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।
साथै प्राधिकरणले प्रचण्डको निर्वाचन क्षेत्रमा रहेको भरतपुर विमानस्थल विस्तारका लागि तत्काल १ करोड ४२ लाख ७९ लाख रुपैयाँसमेत विनियोजन गरको छ। यो विमानस्थलको विस्तारका लागि आवश्यक रकम जुनसुकै समयमा आवश्यक परे पनि व्यवस्थापन गर्नै पर्ने समेत बजेटमा उल्लेख गरेको छ।
साथै, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थललाई पनि २ अर्ब रुपैयाँभन्दा बजेट विनियोजन गरेको छ।
तर, रामेछापको मन्थली विमानस्थललाई भने ४७ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ। साथै प्राधिकरणले गत आवमा कुल ५ अर्ब ९६ करोड ८३ लाख अनुमानित आय गर्ने लक्ष्य लिएको थियो।
जसमा एरोनोटिक तर्फबाट ४ अर्ब ४६ करोड ६० लाख रुपैयाँ र नन-एरोनोटिकल तर्फबाट १ अर्ब ४९ करोड २३ लाख रुपैयाँ आय गर्ने अनुमान गरेको थियो। जसमा १ अर्ब १८ करोड ९४ लाखले वृद्धि भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत आवमा कुल ७ अर्ब १५ करोड ७७ लाख रुपैयाँ आय गरेको छ।
प्राधिकरणले गत आवमा कुल २२ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ पुँजीगत खर्च र कार्यसञ्चालन खर्च गरी ३ अर्ब ६० करोड ६१ लाख रुपैयाँ भएको जनाएको छ।
साथै गत आवमा प्राधिकरणले विमानस्थल विकास सेवा शुल्क भने अनुमान गरेभन्दा कम संकलन गरको छ। प्राधिकरणले २ अर्ब ३४ करोड ७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको भए पनि १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ मात्रै संकलन भएको जनाएको छ। यो लक्ष्यभन्दा १७ दशमलव ८० प्रतिशतले कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।