नयाँ दिल्ली– झारखण्डको भारतीय जनता पार्टी (भाजपा) सरकारले पत्रकारलाई लोभ देखाउनका लागि नयाँ योजना सुरु गरेको छ। राज्यको कल्याणकारी योजनाको समाचार सम्प्रेषण गर्ने प्रिन्ट र टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई राज्य सरकारले १५ हजार रुपैयाँ दिने घोषणा गरेको हो।
झारखण्ड सूचना एवं जनसम्पर्क विभागका तर्फबाट शतिबार एक समाचारपत्रमा यसको विज्ञापन छापिएको छ। जसमा राज्यको कल्याणकारी योजनामा लेख र त्यसको प्रशंसा गर्दै समाचार वा फिचर लेख्ने पत्रकारहरुको आवेदन माग गरिएको छ। एक समितिमार्फत प्रिन्ट र इलेक्ट्रोनिक मिडियाका ३० पत्रकार छनोट गरिने सूचनामा उल्लेख छ।
उक्त सूचनामा सरकारको कार्यक्रममा आधारित भएर ४ लेख लेख्नुपर्ने उल्लेख छ। १२० लेखमा २५ लेखहरु छानेर बुकलेट प्रकाशन गरिनेछ। बुकलेटका लागि छानिएका २५ पत्रकारलाई थप ५ हजारसमेत उपलब्ध गराइने विज्ञापनमा उल्लेख छ।
यसरी पत्रकारलाई लोभ देखाउनुका कारण झारखण्डसहित कैयौं राज्यमा विधानसभा चुनावको मिति घोषणा हुँदैछ।
झारखण्डमा विधानसभा चुनाव यही वर्षको अन्त्यतिर हुनेछ।
सरकारको योजनालाई विपक्षीहरुले भने आलोचना गरेका छन्। निर्वाचनको मिति घोषणा हुन लागेको समयमा पत्रकारलक्षित घोषणा निर्वाचन प्रभावित गर्ने योजना भएको भन्दै आलोचना भएको हो।
पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले रघुबर दास सरकारले नैतिकताको सबै नियम उल्लंघन गर्दै यस्तो सूचना जारी गरेको टिप्पणी गरे।
विपक्षी पार्टी झारखण्ड मुक्ति मोर्चाले पनि यसको विरोध गर्दै प्रेस काउन्सिल अफ इन्डियाले यसमा छानबिन गर्नुपर्ने माग गरेको छ। मन्त्रिपरिषद्को ११ सेप्टेबरको बैठकले मुख्यमन्त्री पत्रकार जीवनबिमा योजना स्वीकृत गरेको थियो। द वायरबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।