काठमाडौं- एन्जल डी मारियाको २ गोलको मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ।
च्याम्पियन्स लिगमा आफ्नो १ सयौं खेल खेलिरहेका मारियाले पहिलो हाफमै २ गोल गर्दै रियल मड्रिडलाई हारको स्वाद चखाएका हुन्।
नेमार, काभानी र एमबाप्पे नहुँदा दबाबमा पर्ने आँकलनलाई गलत सावित गर्दै पिएसजीले रियलमाथि ३-० को स्पष्ट जित निकालेको हो।
रियलका पूर्व खेलाडीसमेत रहेका मारियाले खेलको १४ र ३३ मिनेटमा गोल गरेका थिए। च्याम्पियन्स लिगमा रियल मड्रिड र बार्सिलोना दुवै टिमविरुद्ध एकै खेलमा दुई गोल गर्ने मारिया मारियो जार्डेल र एन्ड्री सेभचेन्कोपछि तेस्रो खेलाडी बनेका छन्।
पिएसजीका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा थोमस म्युनियरले तेस्रो गोल गरे।
खेलअवधिभर रियलले गोलपोष्ट केन्द्रित भएर एउटा पनि प्रहार गर्न सकेको थिएन। ५३ प्रतिशत समय बल आफ्नो पक्षमा पारेको पिएसजीले ९ प्रहार गरेकोमा ५ प्रहार गोलपोष्ट केन्द्रित थिए।
यसबाहेक बुधबार राति नै भएका अन्य खेलहरुमा बार्यन म्युनिखले रेड स्टार बेलग्रेडलाई ३-०, डिनामो जाग्रेबले एटलान्टालाई ४-०, म्यानचेस्टर सिटीले साख्तर डोनेस्कलाई ३-० ले पराजित गर्यो।
क्लब ब्रुग र गालाटासारेले गोलरहित बराबरी खेल्दा ओलम्पियाकोस र टोटनह्यामले २-२ को बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।