इलाम- इलाममा शुक्रबारदेखि सुरु हुने दुईदिने इलाम साहित्य महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुने भएको छ।
पर्यटकीय गन्तव्य इलाममा साहित्य र पर्यटनको विकास गर्ने उद्देयले शुक्रबार र शनिबार साहित्य महोत्सव हुन लागेको हो। इलामलाई कला, साहित्य, संस्कृतिको संगमस्थलका रुपमा विकास गर्न महोत्वको आयोजना गरिएको आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकास थाम्सुहाङले बताए।
कार्यक्रमको सुरुमा प्राडा सञ्जीव उप्रेतीले ‘आलोचनात्मक चेत र लोकतन्त्र’का विषयमा मुख्य सम्भाषण दिनेछन्।
त्यसपछि ‘सत्ता कि प्रतिपक्ष’ विषयमा कविहरु श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जीलसँग कवि विमल वैद्यले बहस गर्नेछन्।
‘के गणतन्त्र खतरामा छ?’ विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, विश्लेषक खगेन्द्र संग्रौलासँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन्।
‘अ’मा अल्झेको इलाम’माथि लेखक, पत्रकार केदार शर्माले युद्यप्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बरालसँग बहस गर्ने कार्यक्रम छ। ‘अधिकारको पेवा’ विषयमा जेबी विश्वकर्मा, सीमा आभास र कृष्ण धरावासीसँग पत्रकार समीरबाबु कट्टेलले बहस गर्नेछन्।
‘मानकमाथि प्रश्न’ विषयमा राजन मुकारुङ, मिश्र वैजयन्ती र उज्वल प्रसाईंसँग महेश पौड्यालले छलफल गर्नेछन्। त्यस्तै, ‘किन बिक्न छोड्यो आख्यान’ विषयमा भूपिन, प्रकाश बुढाथोकी र बिना थिङसँग बालिका थपलियाको बहस हुनेछ।
‘पर्यटनको आयाम’ विषयमा हरिश्चन्द्र राई, केशव द्यौराली र डा देवी दुलालसँग इलामका पुराना पत्रकार धर्म गौतमले बहस गर्नेछन्। त्यसपछि ‘काव्यिक साँझ’को आयोजना गरिएको आयोजकको भनाइ छ।
पछिल्ला साहित्यिक आन्दोलनहरु ‘उन्मुक्त पुस्ता, फरक आयाम र कुकुर कविता’ माथि मुनाराज शेर्माले बहस गर्नेछन्। ‘निर्माणको जिम्मा’ विषयमा सुरेश नेम्बाङ, रवि सिंह र दीपक गौतमसँग सन्तोष नेम्बाङले छलफल गर्नेछन्।
त्यस्तै, ‘करोड क्लब र अफवाह’ विषयमा दयाहाङ राई यज्ञश, ब्रजेशसँग अन्वेश थुलुङ राईले बहस गर्नेछन्। ‘नेपाली साहित्यमा मुन्धुम’माथि कवि भूपाल राई, धमेन्द्र विक्रम नेम्बाङसँग गणेशकुमार राईले छलफल चलाउनेछन्।
‘गीतको दु:ख’ विषयमा गणेश रसिक, कोमल निरौला, गुरुङ सुशान्तसँग युविर चेम्जोङ रहनेछन्। ‘सिनेमा र सन्देश’ विषयमा प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वस्तिमा खड्कासँगको बहसलाई सुरेन्द्र राईले सहजीकरण गर्नेछन्।
कार्यक्रममा अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञ लगायत डेढ सयभन्दा बढीको सहभागिता रहने आयोजकले बताएको छ।
इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत संस्थासँगको सहकार्यमा महोत्सवको आयोजना गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।