काठमाडौं- च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनिस क्लब रियल मड्रिड फ्रेन्च क्लब पिएसजीसँग ३–० ले पराजित भयो। हारका कारणहरु खोजि भइरहँदा मड्रिडका खेलाडीले एउटै बल पनि पिएसजीको पोस्टमा प्रहार गर्न नसक्नुले भने धेरैलाई चकित बनाएको छ।
बलमा नियन्त्रण बनाएको समयलाई हेर्ने हो भने पिएसजी र रियल मड्रिडबीच उति धेरै अन्तर देखिँदैन। बल प्रहार गरेको संख्या पनि उस्तै नै छ। तर पोस्टमा गरिएको प्रहार भने रियल मड्रिडको शून्य नै देखिन्छ।
पिएसजीले ५३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो। उसले ९ सट प्रहार गरेकोमा ५ सट पोस्टमा दिशामा थियो। जसमध्ये ३ त गोल नै भयो। तर रियल मड्रिडले १० प्रहार गरेकोमा पोस्टमा दिशामा एउटै सट पनि गएन। जुन च्याम्पियन्स लिगमा रियल मड्रिडसँग गरिएको आशभन्दा निकै पछाडिको खेल हो। पिएसजीमा केलियन एमबाप्पे, इडिसन काभानी र नेमारजस्ता स्ट्राइकर नहुनुको फाइदा पनि मड्रिडले उठाउन सकेन।
रियल मड्रिडका पूर्वखेलाडी एन्जेल डि मारियाले १४ औँ मिनेटमा नै गोल गरेर पिएसजीलाई दिलाएको अग्रता ३३ औँ मिनेटमा उनैको गोलले दोब्बर भयो। इन्जुरी समयमा थोमस मेउनियरले अर्को गोल थपिदिए। जसले नयाँ सिजनका लागि राम्रो गर्ने योजनामा गएको सिजनको अन्त्यमा मड्रिड फर्किएका प्रशिक्षक जिनेदिने जिदानमाथि दबाब बढेको छ।
जिदान प्रशिक्षक भएर पछिल्लो समय क्लब फर्किएपछिका खेललाई हेर्ने हो भने जित प्रतिशत ५० भन्दा तलै छ। मड्रिडबाट च्याम्पियन्स लिगमा पहिलोपटक खेलिरहेका इडन हाजार्डले पनि राम्रो प्रभाव देखाउन सकेनन्। उनले केही राम्रा मुभहरु बनाएको भए पनि गोल हुन सकेन।
कीर्तिमानी १३ पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडमा पछिल्ला केही वर्ष सफल मानिएका प्रशिक्षक जिनेदिने जिदानले अहिले आफ्नो प्रभाव देखाउन सकेका छन्। मड्रिडले च्याम्पियन्स लिगमा एउटै सट पनि पोस्टमा प्रहार गर्न नसकेको अहिले १६७ खेलपछि थियो। रियल मड्रिडले च्याम्पियन्स लिगमा १४ वर्षपछि पहिलो खेल हारेको हो।
‘यो हार स्वीकार्न निकै नै कठिन कुरा हो, हामी खेलमा राम्ररी सामेल हुनै सकेका थिएनौँ। जब हामी जित्छौँ तब सबै कुरा राम्रो देखिएको हुन्छ तर जब हामी हार्छौं तब सबै बिग्रिरहेको हुन्छ। अब ला लिगामा आइतबार सेभियासँग हुने खेलका लागि हामी तयार रहनु छ’ हारपछि प्रशिक्षक जिदानले भने।
२०१७–१८ को सिजन लगातार तीन च्याम्पियन्स लिगको उपाधि उचालेपछि प्रशिक्षक जिदानले रियल मड्रिडबाट राजीनामा दिएका थिए। आफूले खेलाडीका रुपमा र प्रशिक्षकका रुपमा कमाएको सफलता गुमाउन नचाहेर त्यसबेला राजीनामा दिएका जिदान गएको सिजनको अन्त्यमा वर्षकै तेस्रो प्रशिक्षकका रुपमा मड्रिड फर्किएका थिए।
नयाँ सिजनमा कसरी अगाडि बढ्ने, को खेलाडी ल्याउने र को खेलाडीलाई बिदाइ गर्ने जस्ता सम्पूर्ण अधिकार लिएर फर्किएका जिदानले महत्वपूर्ण केही खेलाडीलाई क्लबमा ल्याउने काम पनि गरे। तर पनि मैदानमा त्यसको प्रभाव भने देखिन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।