काठमाडौं– गत वर्षबाट सुरु भएको ‘सप्तरङ्ग’ यात्राले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। सात कलाकारलाई लिएर सातै प्रदेशमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने कन्सेप्ट अनुसार अघिल्लो वर्षदेखि गृष्मा ब्रोर्डकास्टिङले यो यात्राको थालनी गरेको हो।
यसपटकको यात्रा नोभेम्बर दोस्रो साताबाट सुरु गर्ने तयारी गरिरहेको आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले बताए। पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन पवद्धन र समुन्नतिका लागि भनेको छ। दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको घिमिरेले जानकारी दिए।
पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने घिमिरेले बताए। पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमबाट संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य आयोजकले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।