काठमाडौं– नेपाल टेलिकमले १३ देशमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा सुरु गरेको छ। गत भाद्र २० गतेदेखि छिमेकी मुलुक भारतबाट संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १२ मुलुकमा विस्तार गरिएको हो।
संविधान दिवसको अवसरमा डाटा रोमिङ सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।
अब कम्पनीका जिएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका साथै डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन्।
कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।
हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ।
नेपाल टेलिकमले विगत लामो समयदेखि पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ।
गत २०७६ बैशाख १६ बाट जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुक भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।