काठमाडौं- नागरिक लागानी कोषले संविधान दिवस २०७६ को उपलक्ष्यमा सहिद परिवारलाई सम्मान गरेको छ भने कोषद्वारा प्रबर्द्धत नयाँ योजना `नागरिक बचत वृद्धि कार्यक्रम´ सार्वजनिक गरेको छ।
नागरिक लगानी कोषले उक्त संस्थामा कार्यरत सहिद परिवारका सदस्यहरूलाई सम्मान गरेको हो।
नागरिक बचत वृद्धि कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेट्ने छ।
गैरआवासीय तथा विदेशमा कार्यरत नेपालीहरु, सार्वजनिक प्रतिष्ठानका कर्मचारी तथा स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि समेट्नेछ।
यो योजना न्यूनतम मासिक ५ सय देखि क्षमताअनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ।
यस कार्यक्रममा सहभागीहरुले एकमुष्ट वा अनुकुलताअनुसार पटक पटक गरेर बचत गर्न सक्ने ब्यवस्था गरिएको छ।
यो योजनामा सहभागी हुँदा २ वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई बचत रकमको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिनेछ भने २ वर्षसम्म बचत गर्ने बचतकर्तालाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुबिधा उपलब्ध गराइएको छ।
यसका अतिरिक्त योजनामा सहभागीहरुलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बिमा, औषधोपचार बिमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्चजस्ता सामाजिक सुरक्षाका सुविधा समावेश गरिएको छ।
यस कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजका साथै थप प्रतिफलको व्यवस्था गरिने छ।
यस योजनाबाट संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।