काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास शुल्कबापत ५ वर्षमा साढे ८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरको छ।
नेपाल सरकारको निर्णयअनुसार प्राधिकणले नेपालबाट बाहिर जाने अन्तर्राष्ट्रिय हवाई यात्रुसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ संकलन गर्दै आएको छ।
प्राधिकरण यो रकम मन्त्रिपरिषदको निर्णयबाट आर्थिक वर्ष २०७१/०७२ देखि निरन्तर उठाउँदै आएको छ।
यसरी संकलन भएको रकमबाट प्राधिकरणले विमानस्थल मर्मत तथा संभारको काम गर्दै आएको छ।
विकास शुल्क शीर्षकबाट संकलन भएकै रकमबाट प्राधिकरणले १९७५ को दशकका निर्माण भएको रन-वेको पिच परिर्वतनको काम पनि गरिरहेको छ।
२०७५ चैत १८ गतेबाट सुरु भएको रन–वे पिच परिवर्तनको काम अहिले पनि रातको समयमा नोटाम जारी गरेर भइरहेको छ। अहिले विमानस्थल कार्यालयले बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्म नोटाम जारी गर्दै विमानस्थलको एप्रोन र ट्याक्सी वेको पिच परिर्वतनको काम गरिरहेको छ।
यसअघि वर्षा सुरु हुनुअगावै चैत १८ गतेबाट असार १५ गतेसम्मको बीचमा ३ हजार मिटरको रन-वेको पिच परिवर्तनको काम भएको थियो।
उक्त समयमा भने विमानस्थल कार्यालयले बेलुबा १० बजेदेखि बिहान ८ बजेसम्म नोटाम जारी गर्दै रन-वेको पिच परिर्वतको काम गरको थियो।
विमानस्थलको रन-वेका पिच परिर्वतनको काम चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले गरिरहेको छ। यसका लागि मात्रै प्राधिकरणले झन्डै ४ अर्ब रुपैयाँ खर्च गरको छ।
प्राधिकरणका अनुसार पनि यो शुल्क निरन्तर संकलन भइरहेको छ।
प्राधिकरणका अनुसार आवमा भने लक्ष्यभन्दा कम रकम संकलन भएको जनाएको छ। प्राधिकरणले गत आव २०७५/२०७६ मा २ अर्ब ३४ करोड ६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको जम्मा १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ मात्रै संकलन गरेको थियो।
प्राधिकरणले आर्थिक वर्ष २०७१/०७२ मा १ अर्ब ८६ करोड ९६ लाख, २०७२/०७३ मा १ अर्ब ४८ करोड २९ लाख, आव ०७३/०७४ मा १ अर्ब ४८ करोड ६३ लाख रुपैया विकास शुल्क संकलन गरेको थियो। यसैगरी, ०७४/०७५ मा १ अर्ब ८९ करोड ५० लाख र ०७५/०७६ मा १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ संकलन गरको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।