जनकपुर- सानो हुँदा आमा, हजुरआमाले चित्र कोर्ने गरेको उनी खुब ध्यान दिएर हेर्थिन्। माटोको घरको भित्तामा बनाइएका मान्छे, हात्ती, चरा, फूलका चित्रले सधैं आकर्षित गर्थ्यो त्यही आकर्षणले उनलाई पनि मिथिला संस्कृतिसँग जोडिएको चित्रकला कोर्न रुचि बढ्यो।
यही रुचिले उनी १३ वर्षको हुँदै चित्र सिकाइदिने गुरुको खोजीमा घरबाट हिँडेकी थिइन्।
गाउँघरमा बनाइने माटाका हात्तीघोडा, कपडाका बेहुलाबेहुली र हाँसमयूरलाई सानै उमेरमा कागजमा उतारी साथीसंगातीदेखि गुरुसम्मलाई देखाउँथिन्। ती चित्रबाट स्याबासी पाउँदा उनी फुरुंग हुन्थिन्।
'आमा-हजुरआमाको प्रभाव र चित्रप्रतिको मेरो रुचिले नै मलाई सफलता दिलायो,' कलाकार सुनैना ठाकुरले खुसी व्यक्त गरिन्, 'मिथिल चित्रकै कारण देश विदेशमा चिनिएकी छु। योभन्दा ठूलो सन्तुष्टि अरु के होला र!'
सुनैना हाल जापानमा छिन्। उनको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भदौ २७ देखि सुरु भएको हो, जुन एक महिनासम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धि लगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्र रहेका छन्। प्रदर्शनीमा हस्तकलाका सामग्रीसमेत छन्। त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाल लगायत वस्तुहरु समेत प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेको उनले बताइन्।
OOO
२०६२ सालतिरको कुरा हो। सुनैनाले भर्खरै एसएलसी उत्तीर्ण गरेकी थिइन्। बिहापछि घुम्टोभित्र जेलिएर घरआँगनको आली नाघ्न कठिन हुने अप्ठेराका बीच उनी जनकपुरमा दुईदिने तालिममा सहभागी भइन्।
भारतको दिल्लीबाट आएका कला प्रशिक्षकले तीन सय सहभागीलाई तालिमपछि चित्रकला प्रतिस्पर्धा गराए। बडो सजगतापूर्वक चित्रकारिताका सूक्ष्मातिसूक्ष्म कुरा जान्न खोज्ने सुनैना त्यस प्रतिस्पर्धामा पहिलो भइन्। यही सफलताले नै सुनैनालाई मिथिला चित्रकलाको विराट क्षितिजमा दह्रो पाइला उचाल्ने अवसर जुराइदियो। ‘यो अनपेक्षित सफलता थिएन तर पहिलो थियो, जसले मलाई बुहार्तनको एउटा नयाँ परिभाषाभित्र अटाउन मद्दत गर्यो,’ सुनैना भन्छिन्, ‘म घरबाहिर निस्केर आफ्नो सिर्जनायात्रामा अघि बढ्ने भइसकेकी थिएँ।’
कक्षा १० को पाठ्यक्रममा ‘मिथिला चित्रकला’ शीर्षकको पाठ पढेपछि उनलाई आफ्नो संस्कृतिसँग जोडिएको मिथिला चित्रकलाबारे अझ जान्ने र बुझ्ने रहर जागेर आयो। एसएलसीपछि उक्त चित्रकलाबारे पढ्ने वा ट्रेनिङ लिने केही संघ, संस्था वा कलेज छ कि भनेर सोधीखोजी गरिन्। तर अभिभावकका लागि छोरीको रहर र पढाइभन्दा महत्वपूर्ण जिम्मेवारी थियो विवाह।
मधेसमा छोरीका लागि देखिने सपना अवार्डहरु होइनन्, राम्रो ज्वाइँ र खानदानी परिवार हो। उनको परिवारमा पनि त्यस्तो हुनु स्वाभाविक नै थियो। खेल्नेखाने र पढ्ने १४ वर्षकै उमेरमा उनी महोत्तरीको सुगा निवासीसँग विवाह बन्धनमा बाँधिइन्। कलिलै उमेरमा बिहेबारी हुने मैथिल र त्यसमा पनि समुदायको रिवाजका कारण अन्माइएकी सुनैनाको कलायात्रा झन्डै त्यसपछिका दिनमा अवरुद्ध भयो। तर अन्तरमनको ऊर्जाले भने उनलाई चैनले बस्न दिएन।
केही गर्नैपर्ने उनको आकांक्षा दुई वर्षपछि अझै बढेर आयो र, उनी आफ्नो कलायात्रालाई निरन्तरता दिने टुंगोमा पुगिन्। त्यस अवधिमा उनले चित्रांकन गर्ने आफ्नो खुबीलाई ‘बेडसिट, पर्दा र तकियाको खोल आदि’ मा प्रयोग गरिरहिन्। कलायात्रालाई नयाँ ढंगले थालनी गर्ने ध्याउन्नमा रहेकी सुनैनाका लागि एउटा तालिम जीवनको सबैभन्दा सुन्दर मोड बन्यो।
यसपछि सुनैनाको जीवनसँग जोडियो ‘सर्च फर कमन ग्राउन्ड’। घरपरिवारलाई निकै प्रयत्नले मनाएर उनी त्यस संस्थाद्वारा जनकपुरधाममा आयोजित महिला नेतृत्व सम्बन्धी तालिममा सहभागी भइन्। चारदिने यो आवासीय तालिमका लागि रातदिन घरबाहिर बस्नुपर्ने चुनौती थियो। तर उनको आँट र जिद्दीले यो सम्भव भएको थियो।
आयोजक संस्थाकी मीना शर्माले तालिमका क्रममा सुनैनाका सपनाका कुरामात्र गरिन्। उनकै हौसलाले सुनैनाले आफ्नो सपना पछ्याउन कुनै कसर बाँकी नराख्ने प्रण गरिन्।
यसरी पढाइदेखि अन्य सामाजिक कार्यबाट छोरी र अन्य महिलालाई पर राखिने मधेसी समुदायमा पनि सुनैनाले चाहि पढ्न पाएकी थिइन्। जसका कारण उनले मधेसी समुदायमा आजसम्म पनि व्याप्त लैङ्गिक असमानता र महिला हिंसा विरुद्ध र आफ्नो हक, अधिकारका लागि बोल्नुपर्छ आवाज उठाउनुपर्छ भन्ने सिकेकी थिइन्।
तालिमपछि गाउँ फर्केकी उनले संस्थाले दिएको १० हजार रुपैयाँबाट गाउँकै महिलालाई नेतृत्वसम्बन्धी तालिम दिइन्, चित्रकारिता सिकाइन्। दुईदिने त्यस तालिमबाट उत्पादित सामग्रीको गाउँमै प्रदर्शनी गरिन्। गाउँबाट जिल्ला सदरमुकामसम्म पुग्यो यस्तो प्रदर्शनी। प्रदर्शनी हेर्न आउनेहरूले निकै चासोका साथ सामग्री किनमेल गरे।
यसरी चित्रकला फाँटमा काम तीव्र बनाइरहेका बेला सुनैनालाई एउटा इमेल प्राप्त भयो, जसमा महिला नेतृत्वसम्बन्धी ‘कन्टेन्ट’ झल्किने गरी चित्रकला बनाउन अनुरोधसहित शान्ति पुनर्स्थापनामा काम गरिरहेका आठ विदेशी महिला आएर तिनको अवलोकन अध्ययन गर्ने जनाउ दिइएको थियो। निर्धारित समयमा ती महिला सुनैनाको गाउँमा पुगे। र, विषयगत तालिमका लागि मिथिला चित्रकला बोकेर फर्के। सुनैनाको अनुभव छ, ‘ती चित्रहरू साँच्चिकै शान्ति पुनर्स्थापना तथा महिला नेतृत्वबारे तालिम दिन उपयोगी भए।’
त्यसपछि उनी रहर पूरा गर्ने अधिकारका लागि बोल्न सक्ने भइन्। बाबाआमा मात्र नभएर विवाह गरेर गएको परिवारबाट पनि राम्रो साथ र सहयोग मिल्यो। महिलाको लागि लागू हुने नियममा उनी चलिनन्। उनले आफ्नो लागि आफैं बाटो बनाइन्। समाजले बनाएको इज्जत र प्रतिष्ठाको परिभाषालाई बदल्ने अठोट राखिन्। सुनैना भन्छिन्, ‘आफ्नो लागि परिवार फकाउन सक्नु आफ्नै दायित्व हो। परिवारको साथ मिलेपछि अन्य कुराको डर हुँदैन।’
OOO
सन् २००७ बाट चित्रकला सुरु गरेकी सुनैनाले मिथिला चित्रकलाको अध्ययन चाहिन्। जसका लागि रङहरुको सम्मिश्रण, चित्रले दिने सन्देश, चित्रमा प्रयोग हुने प्राकृतिक रङबारे बुझ्न आवश्यक थियो। उनले नेपालमा मिथिला संस्कृति र चित्रकलाको उत्थानबारे जति कुरा भए पनि यसको बजारीकरण नहुनु र सिकाउने संस्थाहरु समेत नरहेको गुनासो गरिन्।
उनी सन् २०१० मा श्रीमान् शम्भु ठाकुरको सहयोगमा भारतको जितवारपुर पुगेर त्यहाँकी मिथिला चित्रकार कल्पना सिंहसँग आफूलाई तालिम दिनको लागि आग्रह गरिन्। ‘सुरुमा त नेपालबाट आएको भनेर उहाँले मेरो अनुरोधलाई त्यति चासो दिनुभएन तर पछि मेरो काम देखेर खुसी हुनुभयो,' उनले सम्झिइन्, 'उहाँबाट नै प्राकृतिक रङहरु बनाउने र प्रयोग गर्ने तालिम लिएँ।'
श्रीमान् र सासूको अनुमतिले नै उनि अहिले देश विदेशमा समेत आफ्नो कलाको माध्यमबाट आफ्नो गाउँठाउँको पहिचानलाई समेत शिखरमा पुर्याउन सफल हुंदै छिन्।
चित्र त आफैले बनाउने कुरा हो। पहिला दिमागमा चित्र सिर्जना गर्न र त्यसैलाई क्यानभासमा उतार्न सक्नु चित्रकारको विशेषता मानिन्छ। त्यसैलाई निखार्न र सही रंग र ढंग प्रयोग गर्न भारतको १५ महिने बसाइले उनलाई धेरै सघायो।
‘पहिले मेरो काम गर्ने उत्साह र चित्रकलालाई व्यावसायिक बनाउने जोसलाई गलत व्याख्या गर्नेहरु पनि आज आफ्ना छोरीलाई चित्रकार बनाउन चाहन्छन्। म ती आमाबुवा देखेर निकै खुसी हुन्छु,’ यसो भन्दा उनलाई गर्वबोध हुन्छ।
संस्कृतिको उत्थान र प्रवर्द्धन, चित्रकलामार्फत नयाँ पुस्तालाई लोप हुँदै गएको संस्कृतिको ज्ञान हस्तान्तरण, मिथिला चित्रकलामार्फत महिला सशक्तिकरण र लैङ्गिक समानताको सन्देश उनका मुख्य उद्देश्यहरु हुन्।
उनी चाहन्छिन्, आफ्नो समुदाय, समाजको महिलाहरुले सांकृतिक प्रवर्द्धनका लागि भूमिका खेलून्। जसका लागि मिथिला चित्रकला बलियो माध्यम बन्ने उनको बुझाइ छ। साथै मिथिला चित्रकलालाई माध्यम बनाएर महिला मात्र नभएर कुनै पुरुषले पनि व्यक्ति, परिवार, समाज र देशमा आर्थिक, सामाजिक परिवर्तनको लागि भूमिका निर्वाह गर्न सक्ने विश्वास सुनैना राख्छिन्।
OOO
सन् २०१६ मा न्युयोर्कमा उनमो पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी भएको थियो। उनले पहिलोपटक आफूले गर्दै आएको कामप्रति सर्वाधिक गर्व महसुस गरेको त्यही बेला थियो। ‘यो चित्रकला कसले बुझ्ला र भन्ने लागेको थियो। तर नेपाली तथा मिथिला संस्कृति झल्काउने चित्रकलाको सम्मान र ती चित्रकलाले बोक्ने गम्भीर सन्देशको खोजी देखेर म निकै खुसी भएँ,’ उनी सुनाउँछिन्।
यद्यपि नेपालमा मिथिला चित्रकलाले जुन किसिमले बजार पाउनुपर्ने त्यो नदेखेर सुनैना थोरै खिन्न मान्छिन्। उनले क्यानडा, फिलिपिन्स, अमेरिका, क्यानडा, युरोपमा उनको चित्रहरुको बजार राम्रो भएको अनुभव गरेकी छन्। ‘म एक जना र मसँग काम गर्ने ६, ७ जना महिला त मिथिला चित्रकलाले दिएको आम्दानीसँग खुसी होलान्। तर सयौँ महिला छन् जसको चित्र बजारसम्म पुग्न सकेको छैन,’ भन्छिन्, 'मिथिला चित्रकलाको प्रचार र उत्थानका लागि सरकारी निकाय र अन्य समुदायको पनि साथ र सहयोग आवश्यक छ।’
ग्रामीण महिला विकास र सशक्तिकरणका लागि काम गर्न चाहने सुनैना आफूले चित्रकला सिकाएका सयौं महिलाले मिथिला चित्रकलाको लागि बजार र हौसला पाएको हेर्न चाहन्छिन्। उनी आफू सफल हुनुलाई समुदाय सफल भएको मान्न तयार छैनन्। उनी भन्छिन् , ‘मैले पाएको पुरस्कार, सम्मान त्यस समय गरेको कामको लागि हो। जसलाई म निरन्तर अघि बढाउन चाहन्छु।’
समुदायले तोकेको घेरा बाहिर सांस्कृतिक महत्व बोकेको चित्रकला कोर्ने साहसले अहिले सुनैनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारको हकदार बनाएको छ। त्यति बेला उनले पाएको पुरस्कारले दिएको चर्चा, सम्मान, हौसला भने सबैलाई स्वीकार्य भएको छ। उनले ‘एन पिस अवार्ड २०१२’, अमेरिकाको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, ‘सफल महिला उद्यमी अवार्ड २०७३’ र ‘ललितकला विशेष पुरस्कार २०१७’ हात पार्न सफल भई सकेकी छिन्।
मिथिला कलामार्फत महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्याएबापत उनले केही दिनअघि मात्रै ५० हजार रुपैयाँको संगति ग्रान्ट अवार्ड प्राप्त गरेकी थिइन्।
अमेरिका, श्रीलंका, भारतमा समेत एकल तथा सामूहिक चित्रकला प्रदर्शनी गरिसकेकी सुनैनाले जनकपुरधामको जानकी मन्दिर प्रांगणमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आएकी छिन्। काठमाडौंको ठमेलमा समेत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालनमा छ। पोखरा, जलेश्वरमा समेत सामूहिक र एकल चित्रकला प्रदर्शनी गरिसकेकी छिन् उनले।
सुनैनाको सफलता र प्राप्त पुरस्कारबीचको अवधिमा गरिएको संघर्ष पनि उतिकै छ। यसबीचमा उनले मिथिला चित्रकला चिनाउन र चित्रकलामार्फत चिनिन गरेको मेहनत पनि उतिकै ठूलो छ।
सुनैनाले प्राय: महिलाको जीवनशैली, परिवर्तित रुप र भूमिका, मातृ स्नेह, प्रकृति र महिला सशक्तिकरण सम्बन्धित चित्रहरु प्रदर्शनमा राख्ने गर्छिन्।
OOO
मिथिलाञ्चलको लोकजीवन र व्यवहार झल्काउने कला नै मिथिला चित्रकलाको पृष्ठभूमि हो। जसमा धार्मिक, आध्यात्मिक र लौकिक तथा परलौकिक अनुभव समेटिएका हुन्छन्। फरकफरक ढंगका चित्रांकनबाट ऐश्वर्य, आरोग्य र सुखशान्तिको कामना गरिने यो कलामा आजका दिनमा सिद्धहस्त हुन सफल भइन् सुनैना।
स्नातकोत्तर सुनैनाले देशीविदेशी कलाकारका बीचमा आफूलाई अब्बल साबित गरिसकेकी छिन्।
सर्लाही र महोत्तरीका गाउँबाट उठेका सुनैनाका कदम अझै अथक र अविश्रान्त भएर अघि बढ्दैछन्। उनका कृतिमा प्रतीक र संकेतले बनेका जीवनदृश्य छन्, जसले सिंगो जीवनकथा प्रस्ट पार्छन्। ती कथामा उनी पनि एउटा पात्र हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।