काठमाडौं- शुक्रबार दिउँसो ३ बजे स्वयम्भू हल्चोक मैदानमा माल्दिभ्ससँग खेल्दै नेपालले यु १८ साफ च्याम्पियनसिप प्रतियोगिताको सुरुवात गर्दैछ। पहिलो खेललाई लिएर मात्रै होइन प्रतियोगिता नै जित्ने बलियो मनोबलमा रहेको माल्दिभ्स र नेपाल दुबै टोलीको दाबी छ।
नेपाल र माल्दिभ्स मात्रै होइन प्रतियोगितामा सहभागी भुटान, बंगलादेश, भारत र श्रीलंका पनि आफूहरु जित्नकै लागि नेपाल आएको बताउँछन्। लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधि जित्दै घरेलु मैदानमा ह्याट्रिक गर्ने सोचमा रहेको नेपाललाई सबै टोलीको हौसला कमजोर पार्न सहज पक्कै हुने छैन।
‘हामी यसअघिको विजेता टिम पनि हो। हाम्रो प्रशिक्षण पनि राम्रो भएको छ, यसैले उपाधि जित्ने विश्वासमा छौँ। सहज नहुने भए पनि हामीले राम्रो गर्छौं भन्नेमा शंका छैन, ४६ जना राखेर सुरु गरेको क्याम्पबाट अन्तिममा २३ जना छनोट गरेका हौँ’ नेपाली टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भनेका छन्।
अन्य टिमको तुलनामा नेपाल र भारत बलियो रहेको बताउने प्रशिक्षक श्रेष्ठले सेमिफाइन पुगेपछि थप कठिन हुने बताए। ‘मैले समूह चरणमा सहज हुन्छ भन्न खोजेको होइन तर पनि सेमिफाइनल पुगेपछि अलि कठिन नै हुनेछ’ उनले भने।
नेपाली टिमका कप्तान जय गुरुङ घरेलु मैदानमा हुने दर्शकको साथले आफूलाई थप बल पुग्ने बताउँछन्। ‘यो पटक हामीले उपाधिमा ह्याट्रिक गर्नु नै छ, घरेलु मैदानमा भएकाले दर्शकको साथले पनि हामीमा थप हौसला मिल्नेछ’ तयारीसमेत राम्रो भएको भन्दै उनले सुनाए।
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथसमेत पाउने छ।
त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु१८ का रुपमा प्रतियोगिता गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको सबैभन्दा सफल टिम हो नेपाल।
नेपालले प्रतियोगिताको तयारीको लागि खेलाडीहरुलाई झण्डै ४५ दिनको विशेष प्रशिक्षणमा सामेल गराएको थियो। पछिल्लो पटक पोखरामा आठ दिनको साफ तयारी विशेष प्रशिक्षण पनि राखिएको थियो। जसबाट नै नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठले २३ सदस्यीय टोलीको छनोट गरेका हुन्।
असोज ३ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपमा पाकिस्तान सहभागी नहुने भएपछि अन्तिम समयमा खेल तालिका हेरफेर भएको थियो। त्यसले पहिलो खेलमा नेपालको भेट माल्दिभ्ससँग हुने तय भएको हो।
साविक विजेता नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र भुटान रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्।
नेपालले पहिलो खेलमा असोज ३ गते नै माल्दिभ्ससँग खेलेपछि दोस्रो खेलमा ५ गते भुटानसँग खेल्नेछ। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ।
च्याम्पियनसिपका लागि झण्डै १ करोड ९० लाख खर्च हुने एन्फाले जनाएको छ। दर्शकका लागि तोकिएको पाँच सय रुपैयाँको टिकटबाट आउने रकमसँगै अपुग रकम साफको अनुदानबाट जुटाउने एन्फाले जनाएको हो।
सबै टोली उच्च मनोबलमा
प्रतियोगिता अघि सहभागी टिमका प्रशिक्षक र कप्तानसँग कुराकानी गर्दा उनीहरु सबै आफूहरुले राम्रो तयारी गरेको र उपाधि जित्ने योजनामा रहेको बताएका छन्।
भारतका प्रशिक्षक फ्लोयड पिन्टोले त आफूहरु हार्छु भन्ने भएको भए सहभागी हुन नेपालसम्म आउँदै नआउने समेत सुनाए। ‘सबै खेलाडीहरुले प्रेसर कसरी व्यवस्थापन गर्ने भन्ने बुझेका छन्। केही खेलाडीसँग अनुभव पनि राम्रो छ, यसैले हामी उपाधि जित्ने योजनामा नै छौँ। यो प्रतियोगितामा सबै बलिया टिम नै हुन् तर हार्छौं भन्ने लागेको भए हामी सहभागी हुन आउने नै थिएनौँ’ उनले भने।
पहिलो खेलमा शुक्रबार नेपालसँग खेल्ने तयारीमा रहेका माल्दिभ्सका प्रशिक्षक साज्ली मोहम्मद आफूहरुको तयारी राम्रो भएको भन्दै सबैलाई टक्कर दिने सुनाउँछन्। ‘हामी नेपाल आउनुअघि कतारमा विशेष प्रशिक्षणमा थियौँ, त्यहाँबाट सिधैँ नेपाल आएका हौँ, हाम्रो सबै तयारी राम्रो भएको छ, उपाधि जित्ने लक्ष्यमा छौँ’ उनले भने।
आफूहरुसँग राष्ट्रिय टिमबाट समेत खेलिसकेको अनुभव भएका कप्तान हसन नाजिम जस्ता खेलाडी रहेकोले सन्तुलित भएर खेल्ने उनको भनाई छ। कप्तान नाजिम पनि सबै खेलाडीको तयारी राम्रो भएको र आफूहरु यसपटक उपाधि जित्ने योजनामा बलियोसँग लागिपरेको बताउँछन्।
यसका साथै भुटानका प्रशिक्षक युगेन दोर्जी, बंगलादेशका प्रशिक्षक एन्ड्यु पिटर टर्नर साथै श्रीलंकाका प्रशिक्षक एम एम अमानुल्लाह पनि सबै टोलीलाई हराउन सक्ने क्षमता आफूसँग रहेको ढुक्क भएर बताइरहेका छन्।
तर भारतीय टिमका प्रशिक्षक पिन्टोले भनेजस्तै सञ्चार माध्यमसँगको कुराकानी गरिएको जितको दाबी र देखाएको उच्च बनोबल मैदानमा खेलमार्फत देखाउन नसके बेकाम हुनेछ र क्षमता देखाउने स्पस्ट अवसर मैदानलाई नै बनाउनुपर्छ।
को को छन् नेपाली टोलीमा ?
गोलकिपर– विशाल सुनार, सूर्य अधिकारी, पुजन होना
डिफेन्डर– विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, एन्जल महर्जन
मिडफिल्डर– शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्ड– ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।