लन्डन– बेलायतमा हरेक घन्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ।
युनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सबैभन्दा धेरै रहेको छ।
गत दस वर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सबैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ।
राष्ट्रिय धूमपान अध्ययनको पछिल्लो विवरण अनुसार सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा धूमपान गर्ने वयस्कहरूको सङ्ख्या २.२ प्रतिशतले घटेको छ।
बेलायतमा धूमपानकर्ताहरूको सङ्ख्या पछिल्लो समय निकै कम हुँदैगएको छ। अहिले पनि १४.४ प्रतिशत वयस्कहरूले धूमपान गर्ने गर्दछन्।
लैङ्गिक रूपमा हेर्दा धूमपान गर्ने पुरुषको सङ्ख्या १६.४ प्रतिशत र महिलाको सङ्ख्या १२.६ प्रतिशत रहेको पिएचइले जनाएको छ।
पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सबैभन्दा ठूलो अभियान सुरु गरेको हो।
पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सङ्ख्या उल्लेख्य देखिएको छ।
उनले भने, “यो साँच्चै प्रभावकारी देखिएको छ, प्रारम्भिक सङ्केत नै उत्साहजनक भएपनि धुम्रपान रहित समाज बनाउने महत्वाकाङक्षातर्फ हामी लागेका छौँ ।”
धूमपान छुटाउने वर्षभरिको देशव्यापी कार्यक्रमलाई स्टपटोबर नाम दिइएको छ। यस अभियानबाट लाखौं नागरिकले धूमपान त्याग्ने अपेक्षा गरिएको छ। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।