एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारसँग यतिबेला फिल्मको लाइन नै लागेको छ। केही दिनअघि आफ्नो जन्मदिनको मौका पारेर अक्षयले ऐतिहासिक ड्रामा ‘पृथ्वीराज’ को घोषणा गरे। यो फिल्ममा उनी हिन्दु सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन्।
यशराज ब्यानरले निर्माण गर्ने फिल्म पृथ्वीराजको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गर्दैछन्। फिल्मका कलाकारको नाम घोषणा हुँदा निर्माण पक्षले सञ्जय दत्तको नाम सार्वजनिक गरेको थिएन। तर, अहिले आएर यो पृथ्वीराजमा सञ्जयले खलनायकको भूमिका निर्वाह गर्ने पक्का भएको बताइएको छ।
अक्षयसँगै सञ्जयको भूमिका पनि उत्तिकै सशक्त हुने निर्माण पक्षले बताएको छ। सञ्जयले पनि यो समाचारको पुष्टि गर्दै आफू फिल्म पृथ्वीराजमा अनुबन्ध भएको बताएका छन्।
सञ्जयले आउँदै गरेको फिल्म ‘प्रस्थानम’ को प्रमोसनका क्रममा आफू पृथ्वीराजमा अनुबन्ध भएको बताए पनि कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारेमा भने केही खुलाएका छैनन्।
फिल्म पृथ्वीराजबाट मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।