राजविराज– संविधानसभाबाट संविधान जारी भएको दिनलाई सरकारले ‘संविधान दिवस’को रुपमा भव्यतापूर्वक मनाइरहेका बेला मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले भने ‘कालो दिन’ का रुपमा मनाइरहेको छ।
आज बिहान राजपाका नेता/कार्यकर्ताले सप्तरी, सिरहा लगायत तराईका जिल्लामा संविधानको विरोध गर्दै कार्यक्रम गरेका छन्। विरोधको कार्यक्रम जारी नै छ।
सप्तरीमा राजपाका महासचिव मनिष सुमनको नेतृत्वमा सरकारी कार्यालयमा कालो झन्डा गाडिएको छ। सो क्रममा जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, राजविराज वितरण केन्द्र लगायतका केही स्थानमा प्रहरीसँग सामान्य झडपसमेत थियो।
कार्यालयको गेटमा कालो झन्डा गाड्दै हिँडेका राजपाका कार्यकर्ता कार्यालय हाताभित्रै प्रवेश गर्न खोजेपछि अवरोध गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोही क्रममा सामान्य ठेलाठेल भएको प्रहरीको भनाइ छ।
प्रहरीले सबै कार्यालयको कालो झन्डा केही समयपछि नै हटाएको छ।
कालो झन्डा गाड्ने कार्यक्रममा प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी थिए। प्रदेश सांसद नेत्र विक्रम साह, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतको सहभागिता थियो।
२ बजे कोणसभा, ७ वजे ब्ल्याक आउट
संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने क्रममा राजपाले आज दिउँसो २ बजे राजविराजको गजेन्द्र चौकमा कोणसभाको आयोजना गरेको छ। कोणसभालाई पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्ण र सहमहासचिव रानी शर्मा तिवारीले सम्वोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य दिनेश यादवले बताए।
यसैगरी, साँझ ७ बजेदेखि ७ः१५ सम्म ब्ल्याक आउट गर्न राजपाले आग्रह गरेको छ।
विगतमा सरकारले गरेको सहमति र सम्झौता अनुसार संविधान संशोधन नभएसम्म राजपाले संविधान दिवसलाई हर्षोल्लासका साथ मनाउन नसक्ने र विरोधका कार्यक्रम गरिरहने केन्द्रीय सदस्य यादवको भनाइ छ।
सत्तारुढ दल समाजवादी पार्टीले भने संविधान दिवस नमनाउने निर्णय गरेको छ। भदौ ३० गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै संविधान दिवस नमनाउने निर्णय गरेका थियो।
समाजवादी पार्टीका नेता कार्यकर्ताको सहभागिता संविधान दिवसको कुनै पनि गतिविधिमा देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।