काठमाडौं- युरोपेली युनियनको गम्भीर चासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उत्पादक कम्पनी 'एयरबस'को सहयोगमा नेपालमा सञ्चालिन हेलिकोप्टर कम्पनीको उडान सुरक्षा मूल्यांकन सुरु गरेको छ।
हेलिकोप्टर सोसाइटी अफ नेपालको समेत सहकार्यमा हेलिकोप्टरको उडान सुरक्षा मूल्यांकन थालिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
अहिलेसम्म ४ वटा हेलिकोप्टर कम्पनीको उडान सुरक्षा मूल्यांकन सम्पन्न भइसकेको छ भने बाँकी अन्य कम्पनीको सेप्टेम्बरभित्रै सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाइ छ।
‘हेलिकोप्टरको उडानको विषयमा युरोपियन युनियनलगायत अन्य सरोकारवाला निकायले गम्भीर चासो प्रकट गर्न थालेपछि विश्वको ख्यातिप्राप्त कम्पनीको सहयोगमा उडान सुरक्षा मूल्यांकन सुरु भएको हो,’ महानिर्देशक पोखरेलले भने, ‘प्राधिकरणले पनि हेलिकोप्टर कम्पनीहरुको उडान सुरक्षा मूल्यांकन भने निरन्तररुपमा गर्दै आएको छ। अहिले एयरबसमार्फत गरिएको उडान सुरक्षा मूल्यांकन भने विशेष हो।’
युरोपियन युनियनले गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन विभागीय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ) मन्त्री रवीन्द्र अधिकारी र प्राधिकरणका उच्च पदस्थ कर्मचारीको निधनको विषयलाई पनि गम्भीर चासो प्रकट गरेपछि उडान सुरक्षा मूल्यांकन गर्न थालिएको पोखरेलले बताए।
अहिले भइरहेको उडान सुरक्षा मूल्यांकनबाट आएको सुझावलाई पूर्णरुपमा कार्यन्वयनामा लैजाँदै हलिकोप्टर उडानलाई सुरक्षित बनाउने प्रयत्न गरिने उनको भनाइ छ।
युरोपियन युनियनले पनि नेपालमा भइरहेको हेलिकोप्टर दुर्घटनाको विषयलाई लिएर सुरक्षा चासो लिष्ट (कालो सूची)मा राखेको छ।
तर, पनि हेलिकोप्टर कम्पनीहरुले अझै उडानलाई सुरक्षित बनाउनेतर्फ भन्दा पनि कमाउ धन्दाको रुपमा प्रयोग गर्ने गरेको आरोप लागिरहेको छ।
भदौ ३१ गते मंगलबार पनि हेलिकोप्टर कम्पनीहरुले मौसम खराब हुँदैहुँदै उडान गरेका थिए। मौसमकै कारण हेलिकोप्टर चालकहरुले मनलाग्दी तवरबाट काभ्रेका धान खेतमा पनि अवतरण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।