आश्रममा पहिलो रात

शैलेन्द्र अधिकारी | २०७६ असोज ४ शनिबार | Saturday, September 21, 2019 ०५:५५:०० मा प्रकाशित

म यही बाटो भएर कतिपटक ओहोर-दोहोर गरेँ हुँला, आजसम्म यो आश्रम देखेको थिइनँ। देखेँ हुँला तर याद गरेको थिइनँ। यस्तै हो जीवनमा आँखा अगाडि परेका सबै कुरा याद गरिन्न। म निर्वाणानन्दले दिएको ठेगानालाई पछ्याउँदै अघि बढेँ। मूल सडकलाई छोडेर दायाँ लागेँ। करिब तीन सय मिटर भित्र छिरेर बायाँ घुम्ने बित्तिकै बढेमानको द्वार देखियो। द्वारको सिरानमा लेखिएको थियो ‘श्री आत्मदर्शन संन्यास आश्रम, संस्थापक : आचार्य महामण्डलेश्वर स्वामी बोधानन्द गिरीजी महाराज'।

संस्थापकको नाम पढ्ने बित्तिकै मलाई लाग्यो यो निर्वाणानन्द आश्रमको प्रथम पुरुष नभएर द्वित्तीय, तृत्तीय पुरुष हुनुपर्छ। आश्रमको सानो द्वार खुल्लै थियो। भित्र छिरेँ। तीन तलाको विशाल भवन सम्पूर्ण गेरु रङले सिङ्गारिएको थियो। आँगनभरि ब्लक ओछ्याइएको सफा र शान्त परिवेश। छिर्ने बित्तिकै घाँटीमा रामनामी बेरेको, कमिज सुरुवाल लगाएको व्यक्ति मेरो सामुन्ने आयो।

'हजुर! निर्वाणानन्द स्वामीजीलाई भेट्न सकिन्छ?,' म विनम्र बनेँ।

उहाँ त केही बेरका लागि बाहिर जानुभएको छ। तपाईं प्रतीक्षा गर्नुहोस्। उसले मलाई बरन्डाको मेचतिर सङ्केत गर्‍यो।

म जुत्ता खोलेर मेचमा बसेँ। समग्र आश्रमलाई आँखा लगाएँ। मुल गेटको देब्रेपट्टि भागमा बनेको मन्दिरको ढोका बन्द थियो। मध्य दिनमा मन्दिर खुल्ने कुरा पनि भएन। आश्रममा मानिसको खासै चहलपहल थिएन। भित्र कतै मानिस कल्याङकुलङ गरेका आवाज आएतापनि त्यसले आश्रमको नीरवतालाई भङ्ग गर्न सकेको थिएन।

बरन्डाका भित्तामा शिवजी, सरस्वती र शङ्कराचार्यका तस्बिर टाँसिएका थिए। केही ठाउँमा महावाणीहरू लेखिएका थिए। सबै नबुझे पनि 'मन एव मनुष्याणां कारणं बन्धमोक्षया' यस भनाइको सामान्य अर्थ बुझ्न मलाई गाह्रो भएन। म आफ्नो मनलाई लगाम लगाउने प्रयत्नमा लागेँ। तर मन आखिर मन नै हो।

निर्वाणानन्द मैले दुई घन्टा कुरेपछि आश्रमको कुटीमा झुल्किए। उनको कानमा मोबाइल टाँसिएको थियो। उनको पछि-पछि आउने सोह्र/सत्र वर्षको केटाले हातमा गह्रौँ झोला बोकेको थियो। मैले उठेर अदबसाथ नमस्कार गरेँ। उनले मलाई त्यही मेचमा बस्ने इशारा गरे। उनी सामुन्नेको मेचमा बसे, म पनि बसेँ।

'कति बेर भयो भाइ तिमी आएको?,' एक गिलास पानी खाएपछि उनले मेरो बारेमा सोधे।

'दुई घन्टा जति भयो स्वामीजी,' मेरो रेडिमेट उत्तर थियो।

'भनेपछि तिमीले आश्रम बस्ने नै निधो गर्‍यौ होइन त? ... यहाँको चालचलन देखेपछि भोलि नै झोली बोकेर हिँड्ने त होइन?,' उनले हल्का पहेँला दाँत देखाए।

'म सकेसम्म प्रयत्न गर्छु स्वामीजी। आफ्नै रहरले आएको हूँ, परेको स्वीकार्न सक्छु,' अब दाँत देखाउने पालो मेरो थियो।

'हेर, तिमी आफ्नो रहरले आएका हौ, आफ्नै रहरले जान सक्छौ। तिमीलाई आउन-जान आश्रमको गेट सदैव खुल्ला छ। बाँकी तिम्रो मर्जी।'

'हुन्छ स्वामीजी,' म थोरै कृतज्ञ देखिएँ।

आश्रम कसैका लागि पनि विशेष छैन। यहाँ सबैका आ-आफ्नै काम, कर्तव्य र अधिकार छन्। तिमी आफ्नो मर्जीले आश्रमको दिनचर्यामा सहभागी हुनसक्छौ। स्वामीजीले आश्रमको नियम सुनाए।

'प्रकाश! ए प्रकाश! यता आऊ त।'

स्वामीजीको आवाज सुनेर पल्लोपट्टीको कोठाबाट अघिकै केटो निस्कियो।

'हजुर आएँ।'

'यता सुन। यिनलाई आजदेखि आश्रमकै मान्छे ठाने हुन्छ। यिनलाई लगेर माथिको पल्लो पट्टिको सानो कोठामा राखिदेऊ। ट्वाइलेट बाथरुम देखाइदेऊ। अनि सुन! यिनलाई बिहानदेखि बेलुकासम्म हुने सारा काममा सहभागी पनि गराऊ। बुझ्यौ नि! ल यो साँचो लिग।'

मुन्टो हल्लाएर साँचो लिएर प्रकाश अघि बढ्यो। म झोला बोकेर उसको पदचाप पछ्याउन लागेँ।

फर्स घोटिएको भूइँ। मार्बल टाँसिएको सिँढी। सफा, फराकिला र उज्याला। हामी माथिल्लो तलामा उक्लियौँ। उत्तरपट्टिको कोठाको ताला खोले प्रकाशले। सानो कोठा, सानो खाट, मेच र टेबल भएको। मिलाएर लगाएको ओछ्यान। तर, यस कोठामा धेरै दिनदेखि मानिस बसेका रहेनछन् क्यारे, कता-कता ढुँडीको गन्ध आएको थियो। प्रकाश मलाई देखाउनुपर्ने जति कुरा देखाएर फर्के।

कोठामा एक्लै भएँ। अब के गर्ने? काम नै के छ र? सुनूँ के सुनूँ? जाऊँ कहाँ जाऊँ? यो कुनै महर्षिको विशाल तपोवन त होइन! कंक्रिटको जङ्गलबीचको कंक्रिटकै रुख हो। जम्माजम्मी डेढ/दुई रोपनी होला आश्रमले चर्चेको जमिन, यतिभित्र कहाँ जाने? के हेर्ने?

ओछ्यानमा पल्टिएँ। सोचेँ मनलाई एकत्रित बनाउनुपर्छ।

समय बिताउने अन्तिम विकल्प फेरि पनि एउटै बाँकी रह्यो- किताब। झोलाबाट ‘अ बायोग्राफी अफ योगी’ निकालेर पढ्न थालेँ।

अपरान्ह पाँच बज्ने बेलामा निर्वाणानन्द आफैँ मेरो कोठामा आए। खाटमा लम्पसार परेर पढिरहेको म जुरुक्क उठेँ। उनलाई मेचमा बस्न आग्रह गरेँ। फिस्स हाँसेर उनी बसे।

‘अहो! तिमी त पढ्न थालिसकेछौ?,’ उनले सविस्मय सोधे।

‘समय कटाउन खोजेको मात्रै हो स्वामीजी!,’ मैले थोरै सहज हुने कोशिस गर्दै बोलेँ।

‘ल तिमी आश्रममा बस्छु भनेर आइहाल्यौ। यहाँको परिवेशमा सर्टपाइन्ट भन्दा तिमीलाई धोतीकमिज नै सजिलो लाग्नसक्छ बिस्तारै! पक्कै एक/दुई दिनमा बानी पर्छ। यो लगाऊ,’ उनले एउटा झोला दिए। लगत्तै उठी हाले र ढोकामा पुगेर फेरि भने, 'चियापानको समय भयो तिमी पनि तल आऊ।'

उनको आशय मैले धोती र कुर्ता लगाइदिए हुन्थ्यो भन्ने हो कि जस्तो लाग्यो मलाइ। झोला खोली हेरेँ। एक जोर पहेँलो र एक जोर सेतो रङका धोती रहेछन्। बडो असमञ्जसमा परेँ, कुन लगाऊँ? पहेँलो लगाउँदा अहिल्यै जोगी भइने पो हो कि? होस्, सेतै लगाउँछु।

सेतो कुर्ता लगाएँ, ठिकै भयो मिलाउनु परेन। समस्या भयो धोतीमा! दशौँपल्ट कोशिस गर्दा पनि मेरो ज्यानले राम्रोसित धोती सिउरिन जानेन। जसोतसो बेरबार गरेर धोती गाँठो पारेर तल ओर्लिएँ।

‘हँ! अब भने तिमी पनि आश्रमको बासिन्दा जस्तै देखियौ! अब धोती पनि मिल्छ,’ निर्वाणानन्दले मेरो नयाँ अवतारमाथि सामान्य टिप्पणी गरे।

अघि मैले देखेभन्दा अहिले थोरै मान्छे बढेको देखेँ आश्रममा। बरन्डाको कुर्सीमा बस्दाबस्दै एउटा सानो केटाले चिया ल्याएर दिए। चिया पिउन थालेँ। हुन त यो समय एक हातमा कालो चिया र अर्को हातमा चुरोट लिएर भौतिकवादको समीक्षा गर्ने समय हो नि! तर के गर्नु? आश्रमको सात्विक वातावरणमा यस्तो सोच्नु पनि अन्यथा हुन जान्छ।

आश्रमको वातावरणमा साँझ पर्ने लक्षणहरू देखिए बिस्तारै। म आउँदा बन्द रहेको मन्दिर खुलिसकेको थियो। सायमकालीन भ्रमणमा निस्केका गृहस्थीहरू पनि बिस्तारै मन्दिर परिक्रमा गर्दै जाँदै थिए। म आश्रमको परिवेशको नितान्त नौलो मनुवा, मेरा लागि सबै कुरा नौला नै थिए। म सबै कुरा आजै हेर्न, जान्न लालायित थिएँ।

आश्रमको बरन्डामा बत्ती बल्यो। उज्यालो प्राङ्गणसम्म पोखियो, पानीमा तेल पोखिएजस्तो। प्राङ्गणमा ओछ्याइएका राता, पहेँला र खैरा ब्लकहरूसमेत चम्किए। मन्दिरको बाहिर-भित्र दुवैतिरको बत्ती बल्यो। आश्रमको समग्र आकृति साँझको उज्यालोमा मिसियो। यस किसिमको शान्त साँझ नदेखेको पनि धेरै भएछ क्यारे जीवनमा।

मन्दिरमा अविच्छिन्न रूपमा घन्टी बज्न थाल्यो। घन्टीको निरन्तरको आवाजले मन्दिर वरपरको वातावरणलाई सहशा ब्युँझाइदियो। आश्रमका मानिसहरू एकाएक मन्दिरमा जम्मा हुन थाले। जम्मा-जम्मी आश्रममा बाह्र-पन्ध्र जना रहेछन् भन्ने अनुमान लगाएँ मैले। त्यहाँ न मलाई चिन्ने कोही थिए, न मैले चिनेका कोही। कसैले मलाई अब यसो गर्नुपर्छ पनि भनेनन् र मैले कसो गर्नुपर्छ भन्ने पनि सोधिनँ। घन्टीको आवाज सुनेपछि सारा आश्रमवासी मन्दिरमा जम्मा भएको देखेर म पनि आफ्नै विवेकले मन्दिर छिरेँ।

घन्टको आवाज बन्द भयो। त्यसपछि सामूहिक मन्त्रपाठको शृङ्खला सुरु भयो। मेरा लागि संस्कृत श्लोक र मन्त्रको आवाज मेघ गर्जे समान भयो। एकछिनमा एकजना भाइले मलाई एउटा किताब थमाए। पहेँलो गातामा किताबको नाम लेखेको थियो ‘शिवमहिम्नस्तोत्रम्’। पुरै पाठ सिध्याएर उनीहरू उठ्दा पनि मैले किताबको कुन श्लोक कुन बेला कसरी भन्ने हो खुट्याउन सकिन। पाठ सकिएपछि किताब त्यही भाइलाई थमाएँ।

आश्रमका विविध क्रियाकलापका सन्दर्भमा सबैभन्दा अनभिज्ञ म नै हूँ। मेरो काम अरुको पछाडि लागेर नक्कल गरी-गरी सिक्नु हो। यस कुरामा मेरो आत्मस्वीकृति थियो। तैपनि मलाई रमाइलो लागिरहेको थियो। पाठ सकिएपछि सबैले मन्दिरको प्रदक्षिणा गरे। मैले पनि गरेँ। पूजा गर्ने बाबाले हातमा सेता साना-साना दाना दिए, नैवेद्य। मन्दिरबाट निस्केका सबै निर्वाणानन्दको अगाडि उपस्थित भए। पालैपालो उनीहरूले निर्वाणानन्दलाई ‘ॐ नमोनारायणाय’ भन्दै ढोगे। मैले पनि निर्वाणानन्दलाई जीउ निहुर्‍याएर नमस्कार गरेँ।

‘कुनै अफ्ठ्यारो त लाग्या छैन नि तिमीलाई?’

‘छैन स्वामीजी, म एकदम कम्फर्ट छु,' मैले स्वामीजीलाई जवाफ फर्काएँ।

मेरा लागि आश्रम नै नयाँ। र यो पर्यावरण पनि नयाँ। मैले नबुझेका र नजानेका कयौँ कुरा छन् यहाँ। तर, म कसैसित सोधेर भन्दा आफैँ हेरेर, देखेर र गरेर नै जान्न चाहन्छु। त्यसकारण पनि म कसैसित केही सोध्दिन। मलाई यस आश्रममा निर्वाणानन्द भन्दा अरूको नामसमेत थाहा छैन। प्रकाश जान्दछु, तर आफूले सोधेर चिनजानी गरेको होइन। त्यहाँ उपस्थित सबैबारे जान्ने उत्सुकता नभएको होइन, तर मैले मेरो मनलाई थुम्थुम्याएँ। ‘आज नभए भोलि थाहा हुन्छ, धैर्य गर्!’

भोजनको बेला भयो। भोजनालयमा उपस्थित भए सबै। लामो परालको सुकुलमा बस्नुपर्ने रहेछ। बसेँ। अरू पनि बसे लहरै। अगाडि स्टिलको खन्डे थाल, स्टिलकै गिलास। एकजना धोती र कुर्ता लगाएको केटाले सिलाबरको किट्लीमा पानी ल्याए र सबै गिलास भरे। त्यसपछि अर्कोले भात ल्याए। अर्कोले रोटी ल्याए। त्यसैगरी दाल, तरकारी अचार पनि आइपुग्यो। खानेकुराको यस्तो मिश्रित बास्नाको अनुभव, त्यसमाथि यो स्थान र परिवेशमा! सारा नौलो लागिरहेछ। जीवनको मिठास नै नौलोको अनुभूतिमा छ। यदि नौलोको चाहना नहुँदो हो त मानिसले एक पाइलो पनि अघि नसार्दो हो।

‘अरे भाइ! सबको हो गया?,’ निर्वाणानन्दको भाषामा भर थिएन। म आएदेखि नै विचार गरिरहेको छु, उनी कहिले नेपाली त कहिले हिन्दी बोल्थे।

‘हो गया महाराज!,’ भित्र भान्छाबाट उत्तर आएपछि सामूहिक ध्वनि गुन्जियो, ‘ओम् नमः पावर्तीपतये हरहर महादेव शम्भो!’

त्यसपछि भोजन सुरु भयो। मैले खाइसक्दा आधाउधी अरूले पनि खाइसकेका थिए। तर, कोही पनि नउठेकाले म जान्ने भएर उठ्नु अमानुषिक कार्य होला भन्ने लागेर बसिरहेँ। अन्तिममा स्वामीजी फेरि बोले, ‘सबको हो गया?’

‘हो गया महाराज!,’ चार/पाँच जनाले एकै स्वरमा बोले।

'चलो! ओम् नमः पावर्तीपतये हरहर महादेव शम्भो!'

आफ्नो-आफ्नो थाल लिएर सारा उठेपछि म पनि थाल लिएर उठेँ। घारामा सबैले थाल मस्काउन थालेको देखेपछि मलाई मात्र थाल आफैँले माझ्नुपर्छ भनेर अरू कसैले किन भन्नुपर्थ्यो र?

जान खोज्दा-खोज्दै र बुझ्न खोज्दा-खोज्दै आश्रमको पहिलो दिन बित्यो। आश्रममा सबै सन्यासी मात्र बस्दा रहेनछन्। कोही विद्यार्थी पनि रहेछन्। यी कुरा सोधेर भन्दा पनि देखेर नै जानियो। अरू कुरा बिस्तारै जानिएला। नजाने पनि कुनै समस्या छैन किनकि यी सारा कुरा जान्नु मेरो लक्ष्य पनि होइन।

आश्रमको मूल द्वार बन्द भयो। मन्दिरको बाहिरी भित्री दुवै ढोका लागे। भगवान पनि सुते केही बेरलाई। मन्दिरको प्राङ्गणमा भने पिलपिले बत्ती पिल्पिलाइ रहेको थियो। आश्रमको परिवेश झन्-झन् शान्त हुँदै गयो। अघि भोजनका बेलामा देखिएका मानिसहरू पनि अलप हुँदै गए। म भने आश्रमको पेटीमा रहेको मेचमा बसेर आजको दिनको सम्झना गर्न लागेँ। अब केही दिनको लागि मसँग केही काम थिएन। फोन गर्नु, फेसबुक चलाउनु, सरकारलाई गाली गरेर स्टाटस लेख्नु, गर्लफ्रेन्डसित च्याट गर्नु, टिभीमा क्रिकेट हेर्नु जस्ता क्रियाकलापबाट म आज निर्मुक्त थिएँ। हिजोसम्म जुन कुरालाई म जीवनको अनिवार्यता जस्तै ठान्थेँ आज तिनै कुरालाई बेवास्ता गरेर पनि शान्त थिएँ। बस्! मनमा भावनाका छालहरूको बाढी आइरहेको थियो, म किनारामा उभिएर विपरीत दिशातर्फ कुँदिरहेको थिएँ।

‘भाइ! अब सुत्ने होइन र?,’ निर्वाणानन्द स्वामीजीको आवाजले मेरो मनोद्वेग प्रवाहलाई रोकिदियो।

‘अँ अब सुत्नुपर्ला स्वामीजी,’ भन्दै म मेचबाट उठी हालेँ।

‘तिमीलाई कुनै तक्लिफ त छैन नि?’

‘विल्कुल छैन स्वामीजी,’ मैले जवाफ फर्काए। उनले मलाई पानीको स्टिलको जग थमाए।

शुभरात्री!

हामी छुट्टियौँ। म सुत्न जाँदा आश्रम शून्यप्रायः भएता पनि स्वामीजीको कोठामा भने टिभी चलिरहेको थियो।

कोठामा पसेर चुकुल लगाएको पाँच मिनेटमै ढोकामा ‘टकटक’ आवाज आयो। खोलेर हेरेँ। प्रकाश रहेछन्। ‘ए! प्रकाश भित्रै आऊ न।’ प्रकाश भित्र आए।

'स्वामीजीले केही समस्या छ कि हेरेर आइज भन्नुभा’छ। तपाईंलाई केही समस्या छ र?,' उनले स्पष्टीकरण र प्रश्नको काम एकै घानमा गरे।

मैले खासै त्यस्तो समस्या नभएको कुरा बताएँ। उनी निस्केर जान खोज्दै थिए, मैले केहीबेर बस्न आग्रह गरेँ। हेर्दा उन्नाइस/बीस वर्षका लाग्ने यी मान्छे को हुन्? कहाँका हुन्? के उद्देश्यले यहाँ यसरी बसिरहेका छन्? आश्रम छिरेपछि यहीँबाट जिज्ञासा सुरु भयो। मैले मेरा सारा जिज्ञासाका पोका उनी सामू फिजाएँ। र यसरी सोध्नु गल्ती पो भयो कि भनेर पनि भनेँ।

‘के गल्ती हुनु नि दाजु, नाम त मेरो तपाईंलाई थाहा भै’हाल्यो। मेरो थर भट्ट हो। हाम्रो घर अहिले चितवन रत्ननगर भए पनि हामी अलि पहिले गोरखाबाट त्यहाँ बसाइ सरेका हौँ। चितवनबाट एसएलसी गरेपछि म यस आश्रममा आएको हूँ। अहिले म पशुपति क्याम्पसमा बिबिएस सेकेन्ड इयर पढ्दैछु। यहाँ बस्ने अरू केटाहरू पनि कोही स्कुल पढ्छन्, कोही अरु क्याम्पस पढ्छन्।

प्रकाशले आफ्नो बृहत परिचय सहजरूपमा प्रस्तुत गरे।

‘भनेपछि आश्रममा बस्नेले संस्कृत पढ्नुपर्छ भन्ने छैन?’

मेरो प्रश्न नसकिँदै उनले भने, ‘त्यस्तो कुनै नियम छैन। पढाइमा स्वतन्त्रता छ। संस्कृत पढ्ने पनि छन्। आश्रमले हामीलाई खान, बस्न दिएको छ। आश्रम सञ्चालनमा हामीले सहयोग गरेका छौँ यसैगरी चलिरहेको छ।’

जाने बेलामा प्रकाशले अफ्ठ्यारो मानीमानी मेरो लागि एउटा अफ्ठ्यारो प्रश्न सोधे, ‘बरु दाजु, तपाईं चाहिँ यो उमेरमा धोतीपाटा फेरेर किन आश्रम छिर्नुभयो? यस कुराले चाहिँ हामीलाई पनि आश्चर्यचकित बनाएको छ।’

उनको प्रश्नले म पो रन्थिनिएँ। हो, यस्तै प्रश्न मैले अझै केही समय ब्यहोर्नुपर्छ। रिसर्च गर्न आएको हूँ भन्दा झन् अफ्ठ्यारो हुने र रिसर्च पूरा नहुन पनि सक्थ्यो। अब के भन्ने?

‘हेर भाइ, यसैकारणले आएँ भन्ने अवस्थामा त म अहिले छैन। सामान्य अनुभवका लागि आएको सम्झ न,’ खासै उपयुक्त कारण भन्न सकेँ जस्तो चाहिँ लागेन।

‘ल ठिक छ दाजु, भोलिपर्सि कुरा गरौँला’ भनेर प्रकाश गए। म पनि बत्ती निभाएर खाटमा पल्टिएँ। 

खाटमा पल्टिनु मात्रै भयो। निद्रा त कोसौँ दूर। जहिल्यै सुत्ने ओछ्यानमा त भन्नेबित्तिकै निद्रा पर्दैन। यो त नयाँ ठाउँ। त्यो पनि आश्रम। प्रकाशको कुरा सुनेर थाहा भइसक्यो मलाई अनौठो दृष्टिकोणबाट हेर्नेहरूको सङ्ख्या आश्रममै पनि धेरै छ। अरू साधारण मानिसले मेरो यो वर्तमानलाई देखे भने के भन्लान्?

शङ्काले पनि ज्यान सिरिङ्ग बनायो।

आँखा उघार्दा कोठाको सेतो सिलिङ देखिन्छ। आँखा चिम्लँदा स्मृतिका पानाहरू पल्टिन थाल्छन्। हुन त म कुनै नियतिको झोँकाले हुत्याएर आश्रममा आइपुगेको किमार्थ होइन। रिसर्चको विषयलाई अनुभूतिका साथ सत्यापान गरुँ भनेर आएको हूँ। तर, मेरो हुलिया र अवस्थालाई देख्नेहरूले मलाई अर्कै नजरले हेर्न थालेका छन्। आफैँले गरेको काम र चालेको कदममा मेरै विश्वास डग्मगाउने हो कि भन्ने डर आफैँलाई लाग्न थालेको छ।

आँखामा बाआमा र प्रेमिकाको अनुहार नाच्न थाले। बाले मेरो सामुन्ने उभिएर एकटकले हेर्नुभयो। तर, केही भन्नुभएन। आमाले 'हामीलाई यही दिन देखाउन जन्मेको रहिछस्, जोगी भएर हिँड्ने भइस्' भन्नुभयो। पछ्यौरीको सप्कोले आँखा पुछ्नुभयो।

‘मलाई पिरतीको भूमरीमा तानेर जोगी बन्न निस्कियौ, अब मैले मेरै आँसुको पोखरीमा डुबेर मर्नुपर्ने भयो हैन?,' प्रेमिकाले यस्तै प्रश्न गरी।

अरु केही आफन्त इष्टमित्र र साथीभाइ पनि यसै मेलोमा आएर उभिए। कसैले मेरो अवस्थामा दया पनि व्यक्त गरे। कतिले ओठ लेप्र्याए। जीवनको रसरङ्गको उपदेश पनि दिए केही साथीले। जीवन आफ्नो मर्जीले जिउनुपर्छ, ठीक गरिस् पनि भने कसैले। आफन्तहरूले खुच्चिङको भावना प्रस्तुत गरे।

म तन्द्राबाट बाहिर आएँ एक्कासी! धन्न पानी ल्याइएछ। पानीले घाँटी भिजाएँ। यी मान्छेहरू आफ्नै तालमा कराइरहेछन् र प्रतिक्रिया दिइरहेछन्, वास्तविकता नबुझिकनै। म त केवल रिसर्चर हूँ। पिएचडी पूरा गर्न केही समय आश्रममा बस्नुपर्छ वा जोगी बनेको अभिनय गर्नुपर्छ भने पनि म तयार छु। तर, मनको एउटा कुनामा आफैँलाई लाग्छ, मेरो बुद्धिमा पनि यौटा यस्तो अँध्यारो कुनो छ, जसका करण म अलग किसिमको बेचैनी र छटपटीमा अल्झिएको छु। म न त जोगी बन्न नै हिँडेको हुँ न त जीवनबाट विरत नै छु। म त अनुभव सिद्धिमा लागेको साधक मात्र हूँ। ए दुनियाँ! मलाई बुझ्न हतार नगर अहिले। पहिले मलाई म बुझ्ने अवसर त देओ!

निर्जन वनमा म एक्लै हिँडिरहेको थिएँ। वन विशाल र भयङ्कर थियो। वनको बीचको फराकिलो बाटोमा मेरा पाइला अविराम चलिरहेका छन्। चराको चिरबिर, घन्टेकिराको निरस राग, असङ्ख्य अमूर्त आवाज, वनमा तरङ्गित जनावरका भयोत्पादक आवाज पनि मेरो कानमा पस्दै र निस्किँदै गरिरहेका थिए। म त्रास शून्य र रागशून्यावस्थामा यात्रारत थिएँ। जङ्गलको निरवतामा उत्पन्न भएको अलौकिक सौन्दर्यको निर्वाध पान गर्दै म अघि बढ्दै गएँ। आँखामा अनेकौँ विस्मयकारी दृष्य ठोकिन आए। मैले हेरेँ मात्र, म रोकिइन।

गुलाबले लत्रेर मेरो बाटो छेक्यो। मैले गुलाबलाई त्यसरी नै हेरेँ, जसरी मैले काँडालाई हेरेँ। कोइली मेरो दायाँबायाँ उडेर गयो। कोइलीको गाना मैले त्यसरी नै सुनेँ जसरी कागलाई सुनेँ। जाइको फूलबाट आएको वासनालाई मैले त्यसरी नै सुघेँ जसरी मैले उँधोमुन्टोलाई वा क्यातुकेलाई सुघेँ। यसरी कसैको वास्ता पनि नगरी अनि कसैको बेवास्ता पनि नगरी निरन्तर हिँडिरहेँ।

घन्टौँको हिँडाइपछि म एकाएक नदी किनारामा पुगेँ। नदी अन्ततः शान्त थियो। पानी बग्दा आएको आवाजले वातावरणलाई किञ्चित सङ्गीतमय भने बनाइरहेको थियो। नदी किनारमा कैंयौँ पशुपंक्षी पानी पिउँदै थिए। मेरो उपस्थितिले कसैलाई असर पारेन। मैले पनि उनीहरूबाट खासै असर महशुस गरिन। मेरो ध्यान नदी पारीको किनारमा पर्‍यो। त्यहाँभन्दा उताको दृष्य देखेर म चकित भएँ।

शरद ऋतुको जस्तो आकाश निर्मल र कञ्चन, मन्द प्रकाशले देदिप्यमान, अन्तस्करणमा समेत चमत्कार गराउलाजस्तो, मलाई पारी किनारभन्दा परको डिलमा उभिएर त्यो दृष्य हेर्ने रहर पलायो।

म नदीको पानीमा हेलिएँ। चिसोपानीले मेरो पैतालादेखि स्पर्श गर्न थाल्यो। गोलीगाँठो, पिँडुला, घुँडा, जाङ्घ, हुँदै कम्मरसम्म पानी आएपछि नदीको छालले मलाई हल्लाउन थाल्यो। बगाउला जस्तो पो भयो। त्यसपछि भने म नदीमा पौडिन थालेँ। निर्भयताका साथ नदीको मझधारलाई समेत चिर्दै अघि बढेँ। किनारामा पुग्नुभन्दा अघि नै मेरो खुट्टामा केही बेरिएजस्तो आभाष भयो। मैले खुट्टा बलैले झट्कारेँ। अहँ भएन। बेरिएको चिज झन् बेरियो। त्यतिमात्र नभएर मलाई विपरीत दिशातिर तान्न थाल्यो। मैले जति बल गरे पनि मेरो गोडाले मुक्ति पाएन। मेरो शरीर बिस्तारै गल्न थाल्यो। मेरा हातपाउ शिथिल बन्दै गए। म चल्नै नसक्ने अवस्थामा पुगेँ। अब बिस्तारै डुब्न थालेँ। कम्मर डुब्यो। भुँडी डुब्यो। छाती पनि डुब्यो। म आफू डुबेर मर्न लागेको आफैँले निरिह भएर हेरेँ। मैले आफूले आफैँलाई जोगाउन सकिन। मेरो घाँटी डुबेर च्युँडोसम्म पानी आयो। मुख पनि डुब्यो। मैले पानीमा डुब्दै गरेको आफैलाई हेरेँ। पानी खाएँ। हात खुट्टा फालेँ।

असह्य पीडाले म छट्पटाउन थालेँ। स्टिलको भाँडोको चर्को आवाजले ब्युँझिएँ। भूइँभरि पानी पोखिएछ। छट्पटाउँदा ठोक्किएको नाडी अझै दुखिरहेको थियो। जग खाटमुनि पुगेछ। अहो! सपना पनि कस्तो देखेँ? सपनामै भए पनि नदी तरेर पारी जान पाएको भए के-के दृष्य देख्थेँ हुँला?

एक अफसोस!

सपना सपनै हो!

(शनिबार विमोचन हुने अधिकारीको उपन्यास 'निर्वेद'को एक अंश।)