धनगढी- संविधान जारी भएको चार वर्षको अवसरमा असन्तुष्ट पक्षले कालो दिनका रुपमा मनाएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयुक्त पहलमा धनगढीको पार्कमोडमा विरोध कार्यक्रम गरिएको छ। असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध कार्यक्रम गर्ने बनाएका थिए। तर, प्रशासनले अनुमति नदिएपछि उनीहरुले पार्कमोडअगाडि विरोध कार्यक्रम गरे।
संविधान जारी भएको चौथो वर्ष असन्तुष्ट पक्षले असोज ३ कालो दिन भन्दै संविधान नै जलाए। संविधान निर्माणकै क्रमबाट आन्दोलनमा होमिएका थरुहट पक्षधरले संविधानको धारा ३८, ४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाएका थिए।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै थारु, आदिवासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेलसम्म संविधान नमान्ने बताए।
उनले अनूसुचि ४ मा सीमांकनको कुरा उल्लेख भएकाले अखण्ड सुदूरपश्चिमको सीमांकन अवैज्ञानिक भएकाले अनुसूची जलाएको बताए।
त्यसैगरी पूर्वसभासद कृष्ण थारुले संविधान संशोधन गरी सबै जनताको अपनत्व हुने संविधान बनाउन आग्रह गरे। ‘विगतमा एउटा श्रीपेच भएको राजाले देश चल्थ्यो आज यो संविधानले सयौं श्रीपेच लगाएको राजा जन्माएको छ, यस्तो संविधान हामीलाई चाहिँदैन,’ उनले भने।
सरकारले मन्त्रालय, सरकारी कार्यालय, मन्त्री तथा कर्मचारी निवासमा राति दीप प्रज्वलन गरेर दीपावली मनाइरहँदा असन्तुष्ट पक्षले भने साँझ घरको बत्ती बन्द गरी 'ब्ल्याक आउट' गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।