काठमाडौं- यू-१८ साफ च्याम्पियनसिपको सुरुवात नेपालले बराबरी खेल्दै गरेको छ। शुक्रबार अपरान्ह स्वयम्भूस्थित हल्चोक फुटबल मैदानमा सकिएको खेलमा माल्दिभ्ससँग नेपालले १-१ गोलको बराबरी खेलेको हो।
उल्लेख्य दर्शको साथ पाएको नेपालले सुरुवात राम्रो गर्न सकेन। नेपाल पहिलो हाफमा एक गोलले पछाडि पर्यो। डि-बक्स एरियामा नेपाली खेलाडीले फौउल गरेपछि प्राप्त पेनाल्टीलाई माल्दिभ्सले सदुपयोग गरेको हो।
प्याराफिट तथा मैदान आसपास रहेका घरका बार्दली र छतबाट पनि खेल हेरिरहेका दर्शकहरुलाई यसले निराश बनायो। यद्यपि त्यसपछि पनि उनीहरुले नेपाली टोलीलाई हौसलाको भने कमी हुन दिएनन्।
दर्शकबाट प्राप्त मनोबल तथा खेल स्ट्राटजी बदल्दै नेपाल माल्दिभ्समाथि हाबी हुन खोज्यो। यसैक्रममा नेपालले खेल बराबरीमा ल्यायो। नेपालका लागि एकमात्र गोल मनिस डाँगीले गरे।
त्यसपछि गोल गर्न केही मुभ बनाए पनि नेपाली टोली गोल गर्न सफल भएन।
पहिलो खेलमा बराबरीपछि समूह 'ए'का दुवै टोलीले १/१ अंक बाँडेका छन्। यसपछि दुवै टोलीले भुटानसँग खेल्नेछन्। नेपालले भुटानसँग असोज ५ मा खेल्नेछ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत छन्।
लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधि जित्दै घरेलु मैदानमा ह्याट्रिक गर्ने सोचमा नेपाल रहेको छ।
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको थियो। त्यसअघि २०१५ मा नेपालमै आयोजना भएको यू-१९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो।
पहिलो प्रतियोगिता यू-१९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यू-१८ का रुपमा गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको सबैभन्दा सफल टिम हो नेपाल।
असोज ३ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपमा पाकिस्तान सहभागी नहुने भएपछि अन्तिम समयमा खेल तालिका हेरफेर भएको थियो। समूह ‘ए’ मा रहेको साविक विजेता नेपालले अब असोज ५ मा भुटानसँग खेल्नेछ।
आजको खेलका क्रममा देखिएका केही दृश्यहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।