नेकपाको प्रशिक्षणमा चिनियाँ नेता बोलाएकोप्रति कांग्रेस वरिष्ठ नेता पौडेलको आपत्ति 

नेपाल लाइभ | २०७६ असोज ३ शुक्रबार | Friday, September 20, 2019 १९:५०:०० मा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले आफ्नो पुरानो नीति तथा सिद्धान्तलाई लागू गर्न लागेको आरोप लगाएका छन्।

नेता पौडलले नेकपाको प्रशिक्षणमा चिनियाँ नेता ल्याउन लागिएकोप्रति असन्तुष्टि व्यक्त गरे। कम्युनिष्ट सिद्धान्त बलियो बनाउनका लागि चीनमा जस्तै प्रशिक्षण सुरु गरिएको उनको दाबी थियो। लोकतन्त्रका लागि नेकपाले गर्न लागेको प्रशिक्षण खतरापूर्ण रहेको उनले औंल्याए।

गण्डक टोखा प्रजातान्त्रिक समाजले गरेको कार्यक्रममा पौडेलले भने, ‘कम्युनिष्ट सिद्धान्तलाई लागू गर्नका लागि चीनियाँ कम्युनिष्ट पार्टीबाट प्रशिक्षण गराउन लागिएको छ,’ उनले थपे, ‘सवै अधिकार एक जनामा केन्द्रित गर्नु र कम्युनिष्ट अधिनायकवादतर्फ उन्मुख हुने संकेत हुन्।’ सरकार संविधान कार्यान्वयन गर्न नलागी कम्युनिष्टको घोषणापत्र कार्यान्वयन गर्न लागिपरेको आरोप लगाए।

आम जनतामा असन्तुिष्ट रहेको उल्लेख गर्दै उनले सरकारले जनचासोलाई ध्यान नदिएको बताए। सरकार सत्ताको बलमा कार्यकर्ता पोसेर नयाँ वर्ग जन्माउन लागेको आरोप लगाए।

पौडेलले विचार र सिद्धान्तको राजनीति कमजोर हुँदै जात, धर्म र भूगोलको राजनीतिले प्रश्रय पाएको जिकिर गरे। जात, धर्म र भूगोलको नाममा राजनीतिक ध्रूवीकरणको प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे।