राजविराज– पाँच वर्षअघि संविधान सभाबाट संविधान जारी भएको स्मरण गर्दै शुक्रबार देशभर खुसीयाली मनाइयो। ‘घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दीपावली गरौं’ भन्ने नारासहित हरेक जिल्लामा औपचारिक कार्यक्रम आयोजना भए।
हरेक जिल्लामा ‘जिल्ला समन्वय समिति’ तथा सिडिओको नेतृत्वमा कतै प्रभातफेरी, कतै गोष्ठी र प्रवचन भएका छन् भने कतै सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न भएका छन्। स्थानीय तहसम्मै संविधान दिवसका अवसरमा कार्यक्रम आयोजना भए।
तर, संविधान निर्माण प्रक्रियादेखि नै विरोध गर्दै आएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले भने यस वर्ष पनि दिपावलीकै समयमा तराई मधेशका जिल्लामा ‘ब्ल्याक आउट’ गरेको छ। सकारी कार्यालयमा कालो झण्डा समेत गाडेको छ।
संविधानकै प्रावधान अन्तर्गत निर्वाचित भएका प्रदेश सांसाद र स्थानीय तहका जनप्रतिनिधि समेत सरकारी कार्यालयमा कालो झण्डा गाड्नेदेखि विरोध र्याली र सभामा सहभागी भए। सप्तरीको राजविराज नगरपालिकाकी उपमेयर साधना झा आफैं सहभागी भएर आफनै कार्यालयमा कालो झण्डा गाडिन्।
अवरोध गरे प्रतिकारः जनप्रतिनिधि
सप्तरीका जनप्रतिनिधिले संविधान विरोधी आन्दोलनमा सरकारले अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिए। स्थानीय जनआन्दोलन चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले संविधानमा भएका मधेश विरोधी प्रावधान नसच्याए त्यसको विरोध गरिरहने र सरकारले अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिए।
‘हामी माथि प्रश्न उठ्छ, संविधान मानेर कुर्सीमा बसेपछि त्यही संविधानको विरोध गर्न मिल्छ?’ उनले भने, ‘मिल्छ। हामीले संविधान नमानेको होइन, त्रुटि सच्याउन भनेका हौं। त्यसैले विरोध गर्न मिल्छ।’
नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक प्रतिनिधित्व लगायतका ४/५ वटा त्रुटि सच्याए संविधान दिवस मनाउन उर्दी जारी गर्नै नपर्ने भन्दै उनले सरकारको आलोचना पनि गरे। ‘सरकारले संविधान दिवस मनाउन उर्दी जारी गरेको छ,’ उनले थपे, ‘संविधानमा भएका कमजोरी सच्याऊ, आफैं दीपावली सुरु हुन्छ।’
पूर्व निर्धारित १५ मिनेटको ब्ल्याक आउट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका यादवले भने, ‘हाम्रा कार्यक्रममा सरकार र स्थानीय प्रशासनले अवरोध गरे प्रतिकार गर्छौं।’
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले पनि आफूहरूको विरोध सम्पूर्ण संविधानको नभई मधेश विरोधी प्रावधानको मात्रै भएको प्रस्ट्याए। ‘हामीले सम्पूर्ण संविधानको विरोध गरेको होइन। मधेश र मधेशी विरोधी केही प्रावधान छन्, त्यसलाई संशोधन गर्नुपर्छ भनेका हौं,' उनले भने।
कार्यक्रममा राजविराज नगरपालिकाकी उपमेर साधना झा तथा जिल्लाको विभिन्न स्थानी यतहबाट आएका करिब १ दर्जन बढी जनप्रतिनिधिको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।