वासिङ्टन- संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने घोषणा गरेको छ। साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घन्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो। अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोनमार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गरेका छन्। इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुकविरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो।
अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरेको छ। साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताए। उनले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिए।
रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताए।
तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट पारे। कतिपयले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध युद्ध नै सुरु गर्ने अनुमान गरे पनि अमेरिकी नीति एकाएक फेरिएको थियो।
गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरानविरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरानविरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।