काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ५ वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन्।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताए। मन्त्री बाँस्कोटाले भने, 'केही साताअघि भएको ७ दशमलव १ को वृद्धिदर अहिले ७ दशमलव ५ प्रतिशत कायम भएको छ।'
आर्थिक वृद्धिदरलाई बढाएर आउँदो वर्षमा ८ दशमलव ५ प्रतिशत पुर्याइने लक्ष्य लिएको पनि उनले दाबी गरे।
मन्त्री बाँस्कोटाले सरकारले आर्थिक वृद्धिदरलाई बढाउने प्रमुख सूचक श्रमको सम्मान गर्ने नीति भएको उल्लेख गर्दै तल्लो वर्गलाई पनि सँगसँगै हिँडाउने नीति अवलम्बन गरेको बताए। उनले विभेदको अन्त्यबाट नै मुलुकको समृद्धि जोडिएको बताउँदै विभेदलाई लोकतन्त्रले स्वीकार नगरेको उल्लेख गरे।
मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उत्पादकत्वसँग नजोड्दा विभेद समाप्त नभएको धारणा राखे। उनले भने, 'जुन तहको बजेट भए पनि स्थानीय तहले नै कार्यान्वयन गर्ने हो, विकासको अभियानले श्रम–संस्कृतिलाई उत्पादन र उत्पादकत्वसँग नै जोड्ने हो।' मन्त्री बाँस्कोटाले जनता बसेको स्थानमा विकास निर्माणका काम गरिने बताए।
मन्त्री बाँस्कोटाले सङ्घीयता नेपाली मौलिकता अनुरुपको भएको चर्चा गर्दै अन्यत्रजस्तो छुट्टिने अधिकारसहितको सङ्घीयता नभएको तर्क गरे। उनले भने, 'संविधानले कुनै पनि सरकारलाई अल्मल्याउने गरी अधिकार दिएको छैन, साझा र एकल अधिकार तोकेर तीनै तहका सरकारलाई गतिशील बनाउने गरी दिइएको छ।' एकल अधिकारको संविधान सम्पूर्णरूपमा प्रयोग भयो कि भएन भन्ने विषय महत्वपूर्ण हुने उनको तर्क थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।