भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको 'तिलोत्तमा लगानी सम्मेलन' सुरु भएको छ। स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तिलोत्तमामा सुरु भएको हो।
सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्र्याउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौताको तयारी रहेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले लगानी सम्मेलनमार्फत लगानी भित्र्याउन लागिएको नगरपालिकाले जनाएको छ।
लगानी सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', संघीय सरकारका मन्त्री, मुख्यमन्त्रीहरु विभिन्न प्रदेशका मुख्यमन्त्री, संघीय तथा प्रदेश सांसद सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्च पदस्त कर्मचारी, गैरआवासीय नेपाली, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागीता रहेको छ।
सम्मेलनमा २ सय ५० जना स्वदेशी तथा विदेशी उद्योगी-व्यवसायीसहित करिब ५ सय जनाको सहभागिता रहेको जनाइएको छ। नगरपालिकाका पर्यटकीय स्थल जोड्ने गरी रेल सञ्चालन, दुग्ध प्रशोधन केन्द्र, फोहरमैला प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र, प्रादेशिक बसपार्क, दक्ष जनशक्ति तयार पार्नका लागि प्रशिक्षण केन्द्र, क्यान्सर अस्पताल, एकीकृत पर्यटकीय योजना लगायतका आधा दर्जन परियोजनामा लगानी सम्झौता गर्ने तयारी छ।

नगरपालिकाले तयार पारेको परियोजनाका लागि नगरपालिकाले लगानीकर्तालाई सार्वजनिक जमिन लिजमा उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गर्ने र व्यक्तिगत जमिन खरिद गर्न चाहेमा सहजीकरणको भूमिका निभाउने जनाएको छ।
लगानीका लागि कोल्ड स्टोरसहितको एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र, ढाक्रेवास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङरोडमा रेल, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, क्यान्सर अस्पताल, महिला तथा बाल अस्पताल, सौर्य ऊर्जा लगायतका २२ वटा परियोजना तयार पारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।