राजविराज– जिल्ला प्रहरी कार्यालय सप्तरीले ‘एक वर्षे सुरक्षा रणनीति’ सार्वजनिक गरको एक दिन पनि बित्न नपाउँदै सदरमुकाममै चोरी भएको छ।
राजविराज नगरपालिका-५ निवासी कुष्ण साहले संचालन गरेको मोटर पार्टस् पसलमा बुधबार राती चोरी भएको हो। सटरको ताला फुटाएर करिब २ लाख १० हजार मूल्य बराबरको सामान चोरी गरिएको सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए।
यसैगरी, सुरुङा नगरपालिका–११, स्थित जनता माविको कम्प्युटरका सामान चोरी भएको छ। विद्यालयको मूल ढोका आराले काटेर कम्प्युटर, फिंगर प्रिन्ट मेसिन, राउटर, स्पिकर लगायतका सामग्री चोरी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
चोरी गरिएका सामान विद्यालयको करिव ५ मिटरको दुरीमा वरामद भएको छ। दुवै घटनामा संलग्नहरुको खोजी भइरहेको डिएसपी भारतीले बताए।
प्रहरीले बुधबारै पत्रकार सम्मेलन गरेर सुरक्षा रणनीति सार्वजनिक गरेको थियो। जसमा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने उल्लेख छ।
चोरी निकासी नियन्त्रण गर्न प्रहरी युनिट तथा जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी परिचालन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको प्रहरीले चाडपर्व लक्षित योजना भन्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको पनि बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।