काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे।
प्राध्यापक खम्बू झापाको वामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील व्यक्तित्व हुन्। उनी झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओली लगायतका नेताहरूसँग निकट रहेर काम गरेका राजनीतिकर्मी पनि हुन्। पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन्।
'यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो। पुस्तकले एउटा राजनीतिक आन्दोलनको कथा समेटेको छ,' प्रधानमन्त्रीले आफ्नो लामो मन्तव्यको क्रममा भने, ‘यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ। यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ; किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ।'
नेत्र-ज्योति गुमेका प्राध्यापक केआर खम्बूको वर्तमान अवस्थालाई संकेत गर्दै प्रम ओलीले थपे, ‘तर खम्बूजीले देख्न छोड्नुभएको छैन। उहाँको अन्तरदृष्टि खुलस्त छ।'
मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी मात्र गराएनन् उनले आफ्नै परिचित शैलीमा केआर खम्बूसँगको संगत र निकटताको प्रसंग कोट्याउँदै केही रोचक क्षणहरूको सम्झना गरे।
‘यो किताबमा उहाँको संघर्षशील जीवनको गाथा, व्यथा प्रकट भएको छ। झापा आन्दोलन र त्यसको विस्तारमा र साथै कोअर्डिनेसन कमिटी बनाउँदा ताकादेखि खम्बूजीसँग मेरो संगत हो। तर यो पुस्तकमा मेरो मात्र होइन धेरैको कथा समेटिएको छ,' उनले भने।
कार्यक्रमा पुस्तक 'छायाँको लस्कर' र लेखकका बारेमा प्राध्यापक जङ्गब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए। केआर खम्बू आफ्नो मन मिल्ने सहपाठी भएको जानकारी गराउँदै प्राध्यापक जङ्गबले पनि विगतका दिनहरूको सम्झना गरे।
'छायाँको लस्कर' मा लेखकले उनले भोगेको समय र राजनैतिक परिघटनालाई समेटेका छन्। त्यसैले यो एउटा राजनैतिक दस्तावेज त हो नै। तर यो एउटा उत्कृष्ट साहित्यिक कृति पनि हो,' प्राध्यापक जङ्गबले पुस्तकबारे भने, 'पुस्तक लेखकको जीवनका भोगाइको वरपर घुमेको र यसका मूल पात्रहरू त्यसबेलाका माले, एमालेका नेताहरू छन्। तर पनि खम्बूको सरल अनि रसिलो भाषाले पुस्तक पढ्दा साहित्यिक कृतिको आनन्द आउछ।'
प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको जानकारी गराउँदै प्राध्यापक खम्बूले किताबको रचनागर्भको बारे प्रष्ट्याएका थिए।
विमोचन कार्यक्रमलाई प्रकाशन संस्था नेपालयका तर्फबाट युवा साहित्यकार भूषिता वशिष्ठले प्रकाशकीय धारणा राखेकी थिन्। कार्यक्रम सञ्चालनकै क्रममा भूषिताले किताबमा रहेका रोचक उद्धरणहरू वाचन पनि गरेकी थिइन्।
नेपालय पब्लिकेसन्सले प्रकाशन गरेको 'छायाँको लस्कर' ३७० पृष्ठमा समेटिएको छ। पुस्तकको मूल्य ५४५ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।