स्पेनमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालको छुट्टै पभेलियन, ३५ व्यवसायी सहभागी

नेपाल लाइभ | २०७६ असोज १० शुक्रबार | Friday, September 27, 2019 १८:२२:०० मा प्रकाशित

मड्रिड- स्पेनको मड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली उद्योग-व्यवसायी पनि सहभागी भएका छन्।

शुक्रबार स्पेनको राजधानी म्यार्डिडमा सुरु भएको 'एक्सपो टुराल २०१९' मा नेपाली उत्पादन सहितका ३५ व्यवसायी सहभागी भएका हुन्। प्रदर्शनीमा नेपाल र स्पेनका भाषा, धर्म, कला, संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ।

स्पेनको राजधानी मड्रिड अवस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि मड्रिडमा भएको प्रदर्शनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ। प्रदर्शनीस्थल ७ हजार स्वायर मिटर क्षेत्रफलमा फैलिएको छ। प्रदर्शनीमा नेपालको पर्यटकीय क्षेत्र, पर्वतारोहणसम्बन्धी जानकारीको साथै 'भ्रमण वर्ष २०२०' का बारेमा जानकारी दिने छुट्टाछुट्टै स्टल राखिएको छ।

त्यसैगरी हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मुर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका सामाग्री राखिएको छ। नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्त कुमार श्रेष्ठले प्रदर्शनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापारव्यवसायलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह बताए।

यो प्रदर्शनीमा साना तथा मझौला व्यवसायी महासंघ र नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले नेपालको तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरेको छ। कार्यक्रममा फाउन्डेसन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन र शान्ति स्थापनाका लागि फलदायी हुने धारणा राखे।

फाउन्डेसनले मड्रिडमा बुद्धको ५ हजार स्वायर फिटको मूर्तिसमेत निर्माण गर्दै छ। मिनी लुम्बिनीको अवधारणा अनुसार झन्डै १ हेक्टर क्षेत्रफलमा सो मुर्ति बनाउन लागिएको छ।